नेकपा विवाद नयाँ माेडमा : अब पार्टी फुट्ला कि जुट्ला ? (भिडियाेसहित)

नेकपा विवाद नयाँ माेडमा : अब पार्टी फुट्ला कि जुट्ला ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध आक्षेप लगाउँदै पार्टीमा लिखित दस्तावेज पेश गरेपछि अब नेकपाको भविष्यमा प्रश्न उठेको छ । सचिवालय बैठकबाट ओली र दाहालका दस्तावेज छलफलबाट सहमति खोज्ने दिशामा जान्छन् कि पार्टी फुटको औपचारिक दस्तावेज बन्छन् , नेकपाका नेता कार्यकर्ता पंक्तिमा चासो छ । ओली र दाहालका दस्तावेज यस्ता गम्भिर खालका छन् कि अब दुबै न त मिलेर जान सक्छन्, न त छुट्टिएर एक्ला एक्लै हिड्न ।

सँगै जाऔं एकले अर्कालाई लिखित रुपमा नै सत्तोसराप गरेका छन् । छुटिऔं तल्लो तहका कार्यकर्ता र नेताहरु मिलेर जानुपर्ने दबाबमा छन् । अहिले पार्टी फुट्दा दुबै कमजोर हुन्छन् । त्यसैले दबाब दिएका छन् । तर ओली दाहालबीच यस्ता बिषयमा आरोप प्रत्यारोप भएका छन् कि ती विवादमा मिलेर हिड्न सम्भव छ त ? एकले अर्कालाई लगाएका आरोप गम्भिर छन् ।

प्रधानमन्त्री ओलीले पेश गरेको ३८ पेजको प्रतिवेदनमा दाहालले राष्ट्रपति बनाउने बेलामा माधव नेपाललाई धोका दिएको, भरतपुर महानगरपालिकाको चुनावमा आफ्ना छोरीलाई जिताउन मतपत्र च्यात्न लगाएको, आफ्नो अघिल्लो सरकार ढाल्न भूमिका खेलेका कुरा उल्लेख गरेका छन् । शान्ति प्रक्रियाका काम पूरा गर्न दाहालले नै अवरोध गरेको, परिवार नातागोताको संरक्षण गर्ने, घाइते योद्धाहरुप्रति कहिल्यै वास्ता नगरेको पनि ओलीको दस्तावेजमा छ । चुनावमा करिब १३ लाख भोट ल्याएको पार्टीलाई करिब बराबरी हैसियत दिएको भन्दै ओलीले चुनाव अघिको प्रसंग पनि खोतलेका छन् ।

प्रधानमन्त्रीले दाहाल र पहिलेका धेरे घटनाक्रमहरुमा खेलेका भूमिकाबारे प्रश्न उठाएका छन् । यस्तो प्रश्न पार्टी फुट्ने बेलामा एकले अर्कालाई लगाउने जस्ता छन् । कात्तिक २८ मा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको दस्तावेजमा बिषेशगरि ओली पार्टी, निर्णय र पद्धतिमा नहिडेको प्रसंग छ ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयहरूमाथि प्रहार गरेको दाहालको दस्तावेजमा छ । ‘सरकारको नेतृत्वले पार्टीको राजनीतिक कार्यक्रम तथा घोषणापत्रलाई अवज्ञा गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने मान्यतालाई अस्वीकार गर्ने र सुशासन एवं जनमुखी काम आचरणहरूको उपेक्षा गर्दै अघि बढ्ने हो भने यो ऐतिहासिक अवसर हेर्दा हेर्दै गुम्न सक्ने खतरा र चुनौती हाम्रा अगाडि देखा पर्दै जान थालेको छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन’ दाहालले भनेका छन् । दाहालले ओलीमाथि सत्ता प्रयोग गरेर पार्टी चलाउने खालको स्थिति खडा भएको पनि भनेका छन् । ‘पार्टी र सरकारका सम्बन्धमा आपसी तालमेल र समन्वयको ठूलो अभाव छ । यथार्थमा आज पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको छ’ दाहालले भनेका छन् ।

 

Logo