प्रचण्डलाई हेक्का होस् यो देशमा एमाले वा कांग्रेस सामेल नभई सरकार बन्दैन -महेश बर्तौला

प्रचण्डलाई हेक्का होस् यो देशमा एमाले वा कांग्रेस सामेल नभई सरकार बन्दैन -महेश बर्तौला

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रचण्ड मुलुकलाई शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने आशंका पैदा भएको बताएका हुन् ।

उनले भने,‘उहाँ आफैंमा पनि मुलुकलाई एउटा शान्तिपूर्ण ढंगबाट अगाडि बढोस् भन्ने चाहना गर्ने व्यक्तिभित्र पनि पर्नुहुन्न कि भन्ने अब आशंका लागेको छ । विगतमा उहाँको व्यवहारले त देखाएको थियो । राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी जसरी उहाँले भित्तामा पुगेर अभिव्यक्तिहरु दिइरहनुभएको छ । एकदम नाङ्गो शैलीमा यो कुरा सुहाएको छैन ।’

त्यस्तै, उनले अध्यक्ष प्रचण्डले तेस्रो दलको रुपमा रहँदा पनि कहिले एमालेको र कहिले कांग्रेसको काँध चडेर १८ महिना देशको नेतृत्व गर्ने कुरामा पाएको सहयोग विर्सेर सरकारप्रति हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी अभिव्यक्ति दिने गरेको बताए ।
उनले भने,‘उहाँले बुझ्न पर्ने कुरा के हो भने उहाँ तेस्रो दलको रुपमा हुनुहुन्थ्यो कहिले एमालेको काँध चडेर कहिले कांग्रेसको काँध चढेर उहाँ १८ महिना देशको नेतृत्व गर्ने कुरा एमाले वा कांग्रेसको सहयोगबाट पाएको कुरा उहाँले यति चाँडो कसरी विर्सेर एमाले र कांग्रेस मिलेर बनेको सरकारलाई पहिलो दिन देखि नै जुन खालको हिलो छ्याप्ने भ्रम सृजना गर्ने गरी जसरी अभिव्यक्ति दिने काम गर्नुभएको छ । यसको औषधि छैन ।’

साथै उनले सरकार ढलेपनि एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्न नसक्ने दाबी गरे ।

उनले भने, ‘अराजकता र अस्थिरता चाहानेले यस्तै कुराको खेतीपाती गर्छन् । उहाँले त्यही गरिरहनु भएको छ । कल्पनामा यो सरकार ढलेपनि उहाँले कुन सरकार बनाउनु हुन्छ ? एमाले वा कांग्रेस सामेल नभई यो देशमा सरकार बन्दैन । उहाँलाई यो कुरा पनि थाहा छ कि यो सरकार कुनै पनि हिसाबले कमजाेर धरातलमा पुगेको सरकार होइन ।’

Logo