काठमाडाैं । ताप्लेजुङको पाथीभरा अर्थात् मुक्कुम्लुङ नामले चिनिने प्रसिद्ध धार्मिक क्षेत्रमा केवलकार निर्माणको विषयमा पछिल्लो समय आम नागरिकदेखि राजनीतिक क्षेत्रमा विवाद झन् चुलिँदै गएको छ । केवलकार निर्माणको विवादमा पूर्वी नेपालमा मात्रै जारी रहेको आन्दोलन अब काठमाडौंमा पनि सुरु भएको छ । केवलकार निर्माणका विपक्षीहरुले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘नो केवलकार’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ लगायतका नारासहित सोमवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।
पाथीभरा क्षेत्रमा केवलकार निमार्णको विषयमा समाज र राजनीतिक क्षेत्र दुई पक्षमा विभाजित भएको छ । जसमा एक पक्षले पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने धारणा राखेको छ भने अर्काे पक्ष केवलकार बनाउनु हुँदैन भन्ने धारणामा अडिग छ ।
पाथीभरा मन्दिर क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने विषयको पक्षमा राजनीतिक क्षेत्रमा ताप्लेजुङलाई प्रतिनिधित्व गर्ने सांसद योगेश कुमार भट्टराई छन् भने र पूर्वकै झापालाई प्रतिनिधित्व गर्ने राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङदेन विपक्षमा देखिएका छन् । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा केही गम्भिर घाइते भएका थिए । त्यसपछि विवादले उग्ररुप लिदाँ सत्तारुढ दल नेकपा एमालेका सांसद भट्टाराईले पत्रकार सम्मेलन गरी १९ बुँदे ध्यानाकर्षण पत्रमार्फत पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने पक्षमा जोडतोडका साथ आफ्ना तर्क राखेका थिए ।
उनले भनेका थिए, ‘पाथीभराको टुप्पोमा कुनै प्रकारका होटेल, रेस्टुरेन्ट लगायतका अन्य संरचना नबनाइ यसलाई पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धनका लागि केवलकार बनाउन आवश्यक रहेको छ ।’ पाथीभरामा केवलकार बन्दा नै विभिन्न प्रकारका फाइदा हुनेमा जोड दिँदै रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिनुपर्ने उनको माग थियो ।
त्यस्तै, राप्रपाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले पनि आइतबार पत्रकार सम्मेलन नै गरी पाथीभरा क्षेत्रमा केबुलकार स्थापना गर्ने नाममा सरकारले ज्यादती गर्न खोजेको आरोप लगाएका छन् ।
उनको भनाई छ की, ‘कुनै व्यापारीको फाइदाको लागि कुनै नेताको कमिसन र सेयर सुरक्षाका लागि जनतामाथि गोली चलाएर निर्मम तरिकाले केवलकार बनाउन आवश्यक छैन ।’ बरु केवलकार निमार्णको कार्य तत्काल रोकि त्यहाँका आम नागरिकको जनजीवन सहज बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पाथीभरा केवलकार निर्माण विवादको विषयमा यसरी केहि नेताले पत्रकार सम्मेलन नै गरी आफ्ना धारणा राखिरहेका छन् भने कतिपय नेताहरु मौन छन् ।
लिम्बू समुदायले ‘मुक्कुमलुङ’ भन्ने धार्मिकस्थललाई हिन्दु धर्मावलम्बीहरू पाथीभरा भन्छन् । यो हिन्दुहरूको प्रसिद्ध धार्मिकस्थल भइसकेको छ । श्रद्धालु भक्तजनहरू टाढा टाढादेखि दर्शन गर्न त्यहाँ पुग्छन् । उनीहरूको विश्वासमा त्यहाँ काली देवी छिन्, जसले अधर्मीहरूको नाश गर्ने र पवित्र मन भएकाहरूको कल्याण गर्ने धार्मिक विश्वास छ । यता लिम्बूहरूले मुक्कुमलुङ भनिने पाथीभरालाई मुन्धुमीस्थल भन्दै आएका छन् । उक्त स्थानमा केबुलकार बनाउँदा मुक्कुमलुङको महिमा नामेट हुने उनीहरूको चिन्ता छ ।
पाथिभरा मन्दिर क्षेत्रमा केवलकार बनाउने योजना हालै बनेको नयाँ योजना भने होइन, झण्डै तीन दशक अगाडि नै यसको योजना बनेको थियो । तर, अहिले कार्यान्वयन ल्याउने विषय बाहिर आउनासाथ एकाएक विवाद सुरु भएको हो ।
पाथीभरा केवलकार निर्माणका क्रममा उत्पन्न विवादको विषयलाई समाधानका गर्नका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सरकारले गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । तर, आन्दोलनरत पक्षले भने यो राजनीतिक विषय भएकाले कर्मचारीबाट नभई राजनीतिक तहको समिति बन्नुपर्ने माग राखेका छन् । सरकारले वार्ताका लागि न्यूनतम वातावरण पनि नबनाएको गुनासो उनीहरूको छ । यद्यपी सोमबार साँझ ललितपुरको एक होटलमा दुई पक्षबीच वार्ता भएको छ, जुन वार्ताबाट निष्कर्ष निस्कन सकेन । तर, सकारात्मक रहेको बताइएको छ । आज पुनः वार्ता हुँदैछ ।





























प्रतिक्रिया