‘अख्तियारी दुरूपयोग गर्ने जो कोहीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’

‘अख्तियारी दुरूपयोग गर्ने जो कोहीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’

केन्द्रबिन्दु
36
Shares

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारी दुरूपयोग गरी देश, जनता र सुशासनविरूद्ध जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरूद्ध अख्तियारले गरेको काम कारबाहीबाट देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।


साना–साना भ्रष्टाचारका मुद्दामा हातहालेर सङ्ख्यात्मक विवरण पेस गर्ने तर ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिच्किचाउने भन्ने आरोपहरू आइरहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले ती आरोपलाई गलत साबित गराउन साना र ठूला सबैखाले भ्रष्टाचारीलाई पक्रन सुझाव दिए ।

प्रदेश प्रमुख देवकोटाले जनताका निराशा चिर्दै भ्रष्टाचारविरूद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए। उनले बेइमानीका विरूद्धको कदम चाल्नेमा खुट्टा नकमाउन पनि आग्रह गरे । उनले चुनौतीलाई चिर्दै अघि बढ्नुमा नै प्रगति झिनो देखिन्छ भन्दै त्यस कुरामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग गम्भीर हुनुपर्ने बताए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशको विभिन्न जिल्लामा बढ्दै गएको भ्रष्टाचारजन्य अपराधलाई अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रवक्ता लामिछानेले देशमा सुशासन कायम राख्न मानव अधिकार प्रत्याभूति गर्न र जनतालाई सरकार हाम्रै हो भनी विश्वास दिलाउन प्रदेश सरकारले विभिन्न ऐन कानुनको निर्माण गरिएको जानकारी दिए । उनले ती क्षेत्रहरूमा गरिबीलाई न्यूनीकरण गर्दै जनताको आर्थिक स्तर माथि उठाउन चालु आर्थिक वर्षको बजेटमा विभिन्न ‘प्याकेज’ कार्यक्रम ल्याई कार्यान्वयन गर्न लागिपरेको बताए ।

त्यस अवसरमा बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले देशमा जिम्मेवारी पदमा रहेका पदाधिकारी वा मन्त्रालय विभागहरूले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन नगरी कानुनको दायरामा अनुसन्धान गरी अघि बढाउनुपर्ने सुझाव दिए । उनले सुशासन कायम गरी संवैधानिक दायराअनुसार आ–आफ्नो अधिकारी क्षेत्रभित्र रहेर जनताको विभिन्न हितका लागि कानुनसम्मत ढङ्गबाट अघि बढे मात्र भ्रष्टाचारको स्तर निकै घट्नसक्ने धारणा व्यक्त गरे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बागमतीका प्रमुख उमाकान्त आचार्यले प्रदेशको विभिन्न जिल्लामा स्थानीय निकायको विभिन्न वडा, स्वास्थ्य, शिक्षा क्षेत्रमा सार्वजनिक खरिदसँग सम्बन्धित कार्यमा तीव्र भ्रष्टाचार बढेको भनी जनगुनासो आइरहेकामा सो कार्यालयले आफ्नो जिम्मेवारीबोध गरी अनुसन्धान गरी भ्रष्टाचारविरूद्ध कारबाही अघि बढाइरहेकाले सबै क्षेत्रबाट सहयोग प्राप्त हुनुपर्ने बताए ।

बागमती प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उत्कृष्ट चारजना कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृत हुनेहरूमा क्रमशः शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायब सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की रहेका छन्।

Skip This
Skip This
Logo