काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनीहरुले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता गरी बहुमतका आधारमा पारित गरेको भन्दै आपत्ति जनाएका हुन् ।
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भए पनि संशोधन हाल्नुले गलत नजिर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आपत्ति जनाए । बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विधायन विधेयक, २०८१ मा सङ्ख्याको बलमा विधेयक पारित गरेर संसद्लाई नै कमजोर बनाएको आरोप लगाए ।
रास्वपाका सांसद सोविता गौतमले समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएकामा आपत्ति जनाइन् । “विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानुन समितिले विस्तृत रूपमा छलफल गरी, कानुनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव गर्यो”, उनले भनिन् ।





























प्रतिक्रिया