काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गरेका छन्।
अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे ।
लोकतन्त्र स्थापनाका लागि सापकोटाले पु¥याएको योगदानको स्मरण गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनप्रतिनिधिका रुपमा उनले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गरेको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिए।
कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उनको श्रीमती र एक छोरी छन्। उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । सापकोटाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सापकोटाको निधनका कारण प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । बैठक शुक्रबार र शनिबार बस्ने जनाइएको छ ।































प्रतिक्रिया