काठमाडौं । हिजोका दिनमा पाथीभरा केवलकार बन्नुपर्छ भनेर अनुमतिमा हस्ताक्षर गर्ने फुङलिङ नगरपालिकाका तत्कालिन नगरसभा सदस्य डम्बरबहादुर पालुङ्वा अहिले ‘नो केवलकार’ र केवलकार खारेजी संघर्ष समितिको आन्दोलनमा सक्रिय देखिएका छन् ।
केन्द्रविन्दु डट कमले प्राप्त गरेको प्रमाण अनुसार तत्कालिन नगरसभा सदस्य पालुङ्वाले केवलकार बन्नुपर्छ भन्ने अनुमति पत्रमा हस्ताक्षर गरेका थिए । २०७५ सालमा पुस १४ गते शनिबार फुङलिङ नगरपालिकाका तत्कालिन मेयर छत्रपति प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएकोे चौथो नगर सभाको कार्यक्रमले पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई नगरको वडा नं.११ तल्लो फेदी र काफ्लेपाटी क्षेत्रबाट पाथीभरादेवी मन्दिर सम्म जाने केवलकार निर्माण तथा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । उक्त निर्णयमा पालुङ्वाले पनि हस्ताक्षर गरेको पाइएको हो ।
त्यही निर्णय एवं डकुमेन्टमा हस्ताक्षर गर्ने पालुङ्वा अहिले ताप्लेजुङमा चर्किरहेको नो केवलकार र केवलकार खारेजी संघर्ष समितिको आन्दोलनमा सक्रिय भएका छन् । नगर सभा कार्यक्रममा प्रस्तुत प्रतिवेदनको ७ नम्बर बुदाँमा रञ्जुमार्ग (केवलकार) निर्माण तथा सञ्चालन सम्बन्धमा उल्लेख गरिएको थियो ।
उक्त प्रतिवेदनमा पाथीभरा केवलकारको विषयमा उल्लेख गरिएको थियो यस्तो निर्णय
‘पाथीभरा नेपालको पूर्वी क्षेत्रमा नै प्रसिद्धि कमाएको लाखौं नेपाली भक्तजनहरुको आस्थाको केन्द्र तथा पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा रहेको पाथीभरा देवीको मन्दिर सम्म जाने रज्जुमार्ग ‘केवलकार’ निर्माण हुन सके आवागमनको सहजताका कारण भक्तजनहरु तथा पर्यटकहरुको संख्यामा गुणात्मक रुपमा वृद्धि हुने र पर्यटनको दिगो विकास तथा स्थानीय तहलाई आर्थिक स्रोतको दिगो एवं बलियो आधारको रुपमा विकास गर्न सकिने हुँदा निर्माण तथा सञ्चालनमा स्थानीय जनताको बढीभन्दा बढी सहभागीता सुनिश्चत हुनेगरी साथै स्थानिय जनता बढीभन्दा बढी लाभान्वित हुनेगरी दुई पक्षवीच कर तथा लाभांशको विषयमा आन्तरिक सम्झौता गरी उक्त पाथीभरा दर्शन केवलकार प्रालिलाई रज्जुमार्ग (केवलकार) निर्माण तथा सञ्चालन गर्नको लागि अनुमति दिने तथा अन्य निकायमा सिफारिश गर्नुपर्ने भएमा आवश्यक सिफारिस गरिदिने भनि निर्णय गरियो ।’
विगतमा पाथीभरा केवलकार बन्नुपर्छ भनेर सम्झौता हस्ताक्षर गर्ने पालुङ्वाले अहिले केवलकार खारेजीको माग गरेर विरोध गरिरहँदा दोहोरो चरित्र पुष्टि हुन्छ ।
पाथीभरा केवलकार निर्माणको काम सुरु भएदेखि ‘नो केवलकार’ पक्षधरहरुले लगातार विरोध प्रदर्शन गर्दै आइरहेका छन् । पछिल्लो समयमा भइरहेका विरोधमा पालुङ्वा पनि सहभागी रहेका छन् । उनीहरुले विरोध मात्रै गरिरहेका छैनन्, केवलकार निर्माणको पक्षमा बोल्ने व्यक्तिहरुमाथि ढुङ्गा हान्ने, कालो मोसो दलेर, कुटपिट गरेर दुव्र्यवहार गरिहेका छन् ।
फुङलिङ नगरपालिकाका तत्कालिन मेयर छत्रपति प्याकुरेलले केन्द्रविन्दु डट कमसँग टेलिफोन संवाद गर्दै फुङलिङ नगरपालिकाको चौथो नगर सभाबाट पालुङ्वा मात्रै नभइ ६४ जनाकै सहमतीमा पाथीभरा केवलकार निर्माणको लागि अनुमति दिइएको बताए । उनले भने, ‘आफू मेयर हुदाँ ‘नो केवलकार’ भन्ने नभएको र छलफल र सहमतिमा केवलकार बनाउनुपर्छ भन्ने थियो । त्यतिबेला नै केवलकार बनाएको भए अहिलेसम्म बनिसक्थ्यो । त्यतिखेर केवलकार बनाउनेहरुले त्यती ध्यान दिएको जस्तो लागेन । कार्यपालिकाले र नगर सभाले पारित भइसकेको केवलकार निर्माणको विवाद अहिले केन्द्र स्तरमै पुगिसकेकाले सरकारले वार्ता र छलफल गरि समाधान गर्नुपर्छ । केवलकार सल्लाह र सहमतिको आधार बन्नुपर्छ ।’
पाथीभरा केवलकार निर्माणको पक्षमा अहिले ताप्लेजुङवासीले ‘एस केवलकार’ को अथियान नै सुरु गरिसकेका छन् ।





























प्रतिक्रिया