काठमाडौं । नेपालका राजनीतिक दलहरुमध्ये नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको पाइएको छ ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरणअनुसार एमाले नाफामा छ । एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमाले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको हो ।
एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्कबापतको हो । उसले सो शीर्षकमा ११ करोड ५४ लाख ३० हजार ४३७ रुपियाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही शीर्षकबाट एमालेले एक करोड २१ लाख १६ हजार ४१८ रुपियाँ आम्दानी गरेको थियो ।
यसैगरी संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी घाटामा रहेको पाइएको छ । कांग्रेसनिरन्तर दुई वर्षदेखि घाटामा छ । कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर, खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ गरेको आयोगमा उल्लेख छ । कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग हो ।
यता माओवादी केन्द्रको सार्वजनिक गरिएको आयव्यय विवरणमा पनि आम्दानी भन्दा खर्च धेरै देखिएको छ । पार्टीले १ करोड ८६ लाख ५२ हजार आम्दानी गरेको छ भने खर्च भने २ करोड २० लाख ७९ हजार भएको छ । सोही आर्थिक वर्षमा माओवादीले चन्दा बापत कुनै रकम लिएको छैन । यो अवधिमा माओवादीले जम्मा २ हजारको सम्पत्ति बिक्री गरेको छ भने त्यसअघिको आर्थिक वर्षमा सम्पत्ति बिक्री नगरेको लेखा परीक्षणमार्फत जनाइएको छ ।
यता भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको पाइएको छ । आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको रास्वपाले यो अवधिमा छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ खर्च गरेको छ । आव २०७९/८० मा भने रास्वपाले करिब पाँच करोड ४८ लाख रुपियाँ आम्दानी गरेको थियो ।
नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि आम्दानी घटेको छ । २०८०/८१ मा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको एकीकृत समाजवादीले चार करोड ५७ लाख ४० हजार रुपियाँ खर्च गरेको छ । राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपियाँ आम्दानी गरेको छ ।































प्रतिक्रिया