काठमाडौं । पाथीभरा केवलकार निर्माण विवादलाई नजिकबाट नियालेका व्यक्ति हुन्, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन । गत माघ १२ गते भएको ताप्लेजुङको झडपदेखि राष्ट्रिय स्तरमै चर्चामा आएको यो विवादमा मेयर मादेनले केवलकार बन्नुपर्छ भन्ने पक्षमा उभिएका छन् । केवलकार युग सुहाउँदो विकास भएकाले यसमा विरोध गनुपर्नेमा उनी कुनै बलियो तर्क भेट्दैनन् । यसै विषयमा केन्द्रित रहेर पाथीभरा केवलकार विवादले सुल्झिनुको सट्टा किन झन बढ्दै गएको छ ? समाधानको बाटो के ? लगायतका विषयमा पाथीभरा र केवलकारको विषय नजिकबाट जानेका र बुझेका व्यक्ति मेयर मादेनसँग केन्द्रबिन्दुका लागि सुनिया पार्कीले गरेको कुराकानीको सम्पादित अंश ।
मेयरज्यू, पछिल्लो समय पाथीभरा केवलकारको विवाद सुल्झिनुको सट्टा झन बढ्दै गएको छ । तपाईं त्यहीको जनप्रतिनिधि, यस विषयलाई कसरी नियालिरहनुभएको छ ?
-पाथीभरा केवलकारको विरोध ताप्लेजुङवासीले गरेका छैनन् । सबै बाहिरबाट आएर ताप्लेजुङमा आन्दोलन गरिरहेका छन् । पछिल्लो समयको घटनाहरुको अवलोकन गर्ने हो भने झडपमा गोली लागेको, हातखुट्टा भाँच्चिएको अथवा घाइते भएका सबै मान्छेहरु बाहिरका छन् । पाथीभरा केवलकार निर्माणलाई राजनीतिकरण गरेर छेत्रीय पार्टी, विभिन्न लिम्बुवान, जनमुक्ति, समाजवादी लगायत पार्टीहरुले गरिरहेका छन् । जो चुनावमा लड्दा पनि उठ्न सकेका थिएनन् । यिनीहरु चाँहि कोशी प्रदेशमा आन्दोलन गरिरहेका थिए । कोशी प्रदेशको नाम खारेजी गरि पाउँ भनेर । त्यहाँ केहि नलागेपछि, कोशी सरकारले केहि सुनुवाइ नगरेपछि, अब हाम्रो ताप्लेजुङ जिल्लामा केही लिम्बु, केही पहिचानवादी साथीहरुले हाम्रो मुन्धुमी स्थल यहाँ केवलकार बन्नु हुँदैन भनेर कुरा उठाइरहँदा सबै पहिचानवादीहरु पाथीभरामा जोडिए ।
हुँदाहुँदै अब हामी आदिवासी हौं, हामी लिम्बुवासी हौं, हामी जनजाती हौं भनेर सबै जोडिए । किनभन्दा अहिले नश्लवादी सोच भएका सरकारले हामीलाई १८३१ देखि नै दमन गरेको भनेर जुन लिम्बुहरुले आवाज उठाइरहँदा हामी सबै आदिवासी जनजातीदेखि लिएर मुलवासी सबैजना एक हुनुपर्छ भनेर राज्यलाई दबाब दिने खालको वातावरण सिर्जना भएको छ । अहिले विज्ञानको जमाना टेक्नोलोजीको विकास भएको हुनाले मुलुकलाई ढुंगे युगतिर लैजानु हुँदैन ।
हिजोका दिनमा विज्ञान र प्रविधिको प्रभाव परेको थिएन । अहिले त जताततै विज्ञान र प्रविधिले फड्को मारेको छ । त्यसले गर्दाखेरी केवलकार बन्नुपर्छ । हिजोका ताप्लेजुङवासीले तल धरानबाट नुन बोकाएर खान्थे । हरेक सामानहरु बोकेर ल्याउनुपर्थ्याे। अहिले त गाडीको बाटो आएको छ ।
पाथीभरामा केवलकार बन्यो भने पाथीभराको अस्तित्व मेटिन्छ, संस्कृति लोप हुन्छ। केवलकार बन्नुहुँदैन भनेर ‘नो केवलकार’ पक्षधरहरुले अडान लिएका छन् नि । के भन्नुहुन्छ ?
-अहिले नागरिकहरु हिन्दु, बौद्ध, किरात लगायत सबै मठमन्दिर धाउँछन् । रामनाम भन्ने बेलामा अहिले आएर लिम्बुहरुले ढुंगा मेरो, देउता मेरो, खोला मेरो, डाडाँकाडाँ मेरो भनेर हुन्छ ? विज्ञानको जमनामा हामीले जमना अनुसार पो चल्नुपर्छ । निजी कम्पनीले म लगानी गर्छु मलाई अनुमति दिनुपर्यो भन्दाखेरी राज्यले अनुमति दिने हो । भगवानले त विज्ञान प्रविधिका कुरा म सँग नजोड त भन्दैन । भगवानले जति पनि दर्शन गर्न जाने दर्शनार्थीहरुलाई तथास्तु भनिदिने हो।
अनि हाम्रा देशका नागरिकहरुले लगानी गर्न नपाउने ? त्यो चाँहि भुमाफिया हुन्छ ? सानो संकिर्ण सोच लिएर मुलुकको विकास हुँदैन । अहिले आन्दोलन गरिरहेको उद्देश्य के हो भन्दाखेरी पाथीभरा, कोशी प्रदेशलाई आधार बनाएर ०८४ को चुनावका लागि राजनीतिक एजेण्डा हाे । पहिचानको मुद्धालाई आधार बनाएर राजनीतिक मञ्च बनाउन खाजेका छन् ।
यो कुरा चाँहि रविले सिकाए । चुनाव आउनुभन्दा २/४ महिना अगाडि पार्टी खोलेर पुरानो पार्टीले केही गर्न सकेन भनेर देश विदेशमा रहेका सबैलाई फोन गरेर रास्वपामा भोट हाल्नु भनेर २१ सिट ल्याएन त ? आज त्यही कुरा सिकेर आदीवासी, जनजाती, मुलवासी भन्नेहरुले संसदमा उपस्थित हुनुपर्छ भनेर गरिरहेका छन् । विदेशमा रहेकाहरुले त पैसा पठाइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुरा पनि जोड्नुभयो । यो विवादसँग रविको कुरा जोड्न मिल्छ ?
-मैले अघि नै भने त, हिजोका दिनमा पुराना पार्टीले केही गर्न सकेन भरेर रविले पार्टी खोलेर राजनीतिमा आउँदा युवाहरु लागेर त २१ सिट ल्याएको हो । अहिले अरुले पनि त्यही गर्दै छन् । केवलकारको विरोध गरेर दिनको करोडौं पैसा उठाएका छन् । हाम्रो पहिचान, मुन्धुमी, संस्कृति, धार्मिक स्थल बचाउनुपर्यो सरकारले अतिक्रमण गरिसक्यो । विकासका नाममा जताततै भत्काउन थाल्यो भन्दा अध्यारो कुना ‘विदेश’ मा आफ्नो परिवार पाल्नका निम्ति विदेश पलायन भएकाहरुले सहयोग गर्छु भनेर धमाधम पैसा पठाइरहेका छन् ।
पाथीभरामा केवलकार नबनाएर उता अर्काे डाँडामा केवलकार बनाएर चल्छ र ? ताप्लेजुङको मुख्य उद्देश्य नै पाथीभराको महिमा बढाउने हो ।
आज त्यही पैसा लिएर ताप्लेजुङमा सयौं मानिसहरु ल्याएर ताप्लेजुङलाई रणभूमिको मैदानमा परिणत गरे । त्यसको परिणाम जिल्लावासीले भोग्नुपरेको छ । ताप्लेजुङका सबै नागरिकहरु निस्किए भने के हुन्छ ? अराजकता मच्चाएर रणभूमि मैदान बनाउन पाइन्छ ?
ताप्लेजुङका ९९ प्रतिशत स्थानीयहरुले केवलकार बनाएर विकास गर्नुपर्छ, यो हाम्रो भविष्य हो । हामीले ताप्लेजुङ जिल्लामा बिसाैं हजार पर्यटकहरु दिनप्रतिदिन ल्याएर भएपनि गरिबीपनलाई माथि उठाउनुपर्छ । व्यवसाय, नागरिक र किसान लगायत सबैका लागि गरी चलाएमान बनाउनुपर्छ । ताप्लेजुङ जिल्ला पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेको जिल्ला हो ।
मेयर ज्यू, केवलकारको विवाद अब ताप्लेजुङको मात्रै रहेन । राष्ट्रियस्तरमै चर्चामा छ । यो विवाद कसरी समाधान गर्ने त ?
-सरकारले वार्ता र संवादबाट ‘नो केवलकार’ समुहको चित्त बुझाउन सक्दैन भने स्थानीय तहलाई अधिकार दिनुपर्छ । जनमत संग्रह गराउनुपर्यो । पाथीभरा केवलकारको कुराले देश विदेशका मानिसहरु तरंगित छन् । साँच्चै राज्यले गोली हानेर अतिक्रमण गर्न खोजेको हो त ? राज्यले जनतालाई पेलेर सांस्कृतिक र धार्मिक अतिक्रमण गर्न खाजेको हो त ? भन्ने हो–हल्लाको पछाडी कुदेर नारा जुलुस लगाएर देशमै अराजकता निम्त्याएर जातीय, धार्मिक दंगा फैल्याएर भोलि देशको स्थिति राम्रो हुँदैैन ।
आज त्यही पाँचथर, इलाम, झापा,सुनसरी, र मोरङको मान्छेले केवलकारविरुद्ध बाहिरका लागि नारा लगाइरहेका छन्। ताप्लेजुङवासीले लगाएको छैन । बाहिरबाट समूह बनाएर आएर ताप्लेजुङमा पुलिसलाई कुटेको छ, असुरक्षित बनाएको छ । राँके-जुलुस भनेर घरघरमा आगो लगाउने गर्या छन् । अझ काठको घर भएको भए त अस्ति आगो लागिसक्थ्यो।
२०४६/४७ साल पछि च्याउ जस्ता उम्रेका पार्टीहरु सबै एक भएर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई ठिक पार्नुपर्छ भनेर रविले सिकाएका छन् नि त। हामी पहिचानका लागि लड्दै छौँ, तपाईंहरुको घर बचाउँदै छौँ भनेर विदेशमा रहेका नेपालीहरुसँग भोट माग्ने काम गरेका छन् । अब राज्यले पनि सचेत हुने बेला आएको छ । अहिले कुरा बुझ्नु छैन, साधुसन्तदेखि लिएर सबैले केवलकारको विरोध गरिरहेका छन् । पर्यटन प्रर्वद्धन गर्ने ठाउँहरु ताप्लेजुङमा प्रशस्तै छन् । त्यसैले यसको विकासका लागि ताप्लेजुङवासी लागेको छ ।
पहिचानवादीलाई उचाल्ने प्रचण्डजी हुन् ।
पाथीभरा केवलकार निर्माण परियोजनामा राजनीति पनि घुसेको देखिन्छ । किनभने राजेन्द्र महतो त्यहीं पुगे । राजेन्द्र लिङ्देनदेखि अधिकांशले सडकदेखि सदनसम्म आवाज उठाइरहेका छन् । तपाईंको धारणा के छ, राजनीतिकरणका कारण विवाद सुल्झाउन समस्या भएको हो ?
-मैले अघि पनि भने २०४६/४७ साल पछि च्याउ जस्ता उम्रेका पार्टीहरु सबै एक भएर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई ठिक पार्नुपर्छ भनेर महतोदेखि लिएर सबै लागिरहेका छन् । पहिचानवादीहरु सबै एक भएर पहिचानवादीको चिन्हमा चुनाव लडेपछि त राजेन्द्र महतो पनि भोलि संसदमा पुग्ने भो । भोलि चुनाव लड्दा प्रत्यक्षमा कांग्रेस, एमालेमा भोट दिएपनि समानुपातिकमा पहिचानवादीको यो चिन्हमा भोट हाल्नु भनेपछि त मधेशका मतदाताहरु सबै खनिने भए । त्यसैले राज्य सचेत हुन आवश्यक छ ।
२०८४ लाई टार्गेट गरेर राजेन्द्र महतोदेखि लिएर सानो पार्टीहरुले केवलकारको विरोध गरेर राजनीतिक मञ्च बनाउन खोजिरहेका छन् । पहिचानवादी मोर्चा भनेर आ-आफ्नो ठाउँमा उम्मेदवार उठाएर देश विदेशका नागरिकहरुसँग भोट माग्ने बाटो बनाइरहेका छन् । यस्ताहरु सरकारमा गए भने देश कता जान्छ ?
पाथीभरामा केवलकार बनाउँदै गर्दाखेरी पाथीभराको अस्तित्व समाप्त हुन्छ भन्ने मान्यता मेरो छैन । मेरो चिन्ताको विषय भोलि देश र समाज कता जाँदैछ भन्ने हो। म देश बिगार्ने पक्षको मान्छे होइन । देशको अर्थतन्त्रलाई सुधारेर मजवुत बनाएर लानुपर्छ भन्ने मान्छे हो । हामी एउटा बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक भएको मुलुक हो । जातीय सद्भाव बनाएर हिजो जसरी मिलेर बस्या थियाैं, आज त्यो भड्किँदै छ । आज धार्मिक द्वन्द हुँदैछ । त्यसरी किन यस्तो भैइरहेको छ भन्ने कुरा राज्यले बुझ्नुपर्छ ।
सरकारमा पनि थरीथरीका मान्छे पुगे । पहिचानवादीलाई उचाल्ने प्रचण्डजी हुन् । हिजो प्रचण्ड प्रधानमन्त्री भएको पालामा नारायणकाजी गृहमन्त्री हुँदाखेरी केवलकार बनाउन सुरु गरेको हो । त्यतिखेर काठमाडौंमै गएर प्रचण्डसँग मैले भेटेको थिएँ । उहाँले पनि बनाउनुपर्छ, विकास हामीलाई आवश्यकता छ हामीले खोजेकै त्यही हो भन्नुभयाे । नाराणकाजीलाई मैले फोन गर्दाखेरी द्वन्द होला भनेर मैले पुलिस फोर्स कम छ ३०/४० जना पठाइदिनुपर्यो भन्दाखेरी उहाँले तुरुन्त पठाको हो ।
अनि अहिले आएर प्रतिपक्षमा बस्दाखेरी कुनै पनि नागरिकलाई कुनै पनि जातीको सभ्यता र संस्कृतिमाथि राज्यले अतिक्रमण गर्छ र गोली हानेर जवर्जस्ती बनाउँछ भने मान्ने छैन त्यसमा हामी पनि उहाँहरुलाई सहयोग गर्न तयार छौँ भनेर भन्ने यस्तो नेताहरु भएसी कसरी देश विकास होला ?
पहिचान कसले अतिक्रमण गरेको छ ? हिजाे बाटो बनाउने बेला पहिचावादीहरु कहाँ गएका थिए ? त्यहाँ सेवा सुविधायुक्त संरचना निर्माण गर्दाखेरी पहिचावादीहरु कहाँ गएका थिए ? पाथीभराको आङकाजी शेर्पालाई चिन्ता छ ? राजेन्द्र महतोलाई चिन्ता छ ? या बाहिरका मान्छेहरुलाई बोलिरहनुपर्ने आवश्यकता छैन । पर्यटनलाई कसरी प्रमोट गरी कसरी ताप्लेजुङको विकास गर्ने भन्ने कुरो हाम्रो कुरा हो ।
एसिया महादेशका सबै देशहरुमा मठ मन्दिरहरु छन् । यहाँ विकास गर्ने आधारहरु नै यी नै हुन् । पाथीभरामा केवलकार नबनाएर उता अर्काे डाँडामा केवलकार बनाएर चल्छ र ? ताप्लेजुङको मुख्य उद्देश्य नै पाथीभराको महिमा बढाउने हो । हामी त तीन करोड जनता त छौँ । भारतमा करोडौं जनता छन् । त्यसैले पाथीभरामा केवलकार बन्यो भने लाखौँ धर्मालम्बीहरु दर्शन गर्न आउँछन् । पाथीभरा केवलकार कोशी प्रदेशकै समृद्धिका लागि हो । हामीले ठुलो जनसंख्या भएको ठाउँलाई लक्षित गरेर केवलकार निर्माण गर्नुपर्छ भन्या हो ।
राज्यको भूमिका के रहन्छ त अब ?
-पाथीभरा महिमाको बारेमा एउटा प्रोजेक्ट बनायाैं, यो परियोजना सञ्चालन गरौँ भन्ने सबैको चाहना हुँदाहुँदै यो बनेन भने के हुन्छ ? ताप्लेजुङमा ३०/४० वटा हाइड्रो छन् । यी हाइड्रोहरुमा पनि यिनीहरुले अतिक्रमण गर्न खोज्छन् । धेरै वटा हाइड्रोहरु बनाउन दिएका छैनन् । यस्तो अराजकता गर्नेहरुमा पनि सरकारले समयमै ध्यान दिनुपर्यो । कोशी प्रदेशमा त विकास भएन मान्छाैं, राज्यको काम चाँहि के हो ? राज्यको काम माथि भत्ता र तलब खाएर उद्घाटन गरेर मात्रै बस्ने ? राज्यले विकास गर्नु पर्दैन ?
हाम्रो देशमा निजी कम्पनी नभएपनि बाहिरका निजी कम्पनी भित्र्याएर भएपनि हामीले विकास गर्नुपर्छ ।
हामीसँग हिमाल, तराई, पहाड मिलेर बनेको सुन्दर देश छ । हामीसँग प्रकृतिले दिएको सुन्दरता छ । त्यसैले हामीले चाइना र भारतबाट पर्यटक भित्र्याउन सकेपनि काफी हुन्छ । यहाँ ढुङ्गा, डाडाँ मेरो भनेर हुन्छ ? ताप्लेजुङमा ७४ सालदेखि नै कुरा उठाउदैँ गर्दाखेरी पाथीभराको नाम मुक्कुमलुङ लेख्नुपर्छ भन्यो । मुक्कुमलुङ लेख्नुपर्छ भनेर विवाद भएको झण्डै ८ वर्ष भयो । २०७२/७३ मा तीनदेखि चार लाख भत्तजनहरु आउँथे । अहिले घटेर पचासदेखि साठी हजार पुगेका छन् । यसरी नै लडाँइ गरिरहने हो भने भत्तजन पनि आउँदैनन् । केवलकारको विरोध गरेर लिम्बुहरुले हाम्रो दाजुभाइहरुले ताप्लेजुङलाई समसान घाट बनाउन खोज्या छन् ।
केवलकार विकास होइन अरे । निजी कम्पनीले बाटोघाटो त कहाँ बनाइदिन्छ र ? व्यापारिक कम्पनीले त केहि मुनाफा हुन्छ भनेर लगानी गर्छु भन्या हो । आज विश्वमा निजी कम्पनीहरुले नै लगानी गरेर विकास गर्या छ । निजी कम्पनीले आफ्नै देशमा नागरिकहरुलाई २० प्रतिशत सेयर दिएर नागरिहरुलाई धनी बनाएका छन् ।
पाथीभरामा केवलकार निर्माण गर्ने कम्पनीले पनि नागरिकहरुलाई ३० प्रतिशत सेयर दियो भने धनी हुन्छन् । केहि प्रतिशतमात्रै त निर्माण कम्पनीले लाने हो बाँकी त घरदैलोमै रहने हो । यस्ता कुराहरु बुझ्नु छोडेर समसानघाट बनाउनु भएन । टेक्नोलोजीले विकासको फड्को मारेको अवस्थामा मुलुकले विकास गरेको छैन् । धार्मिक स्थलको प्रवद्र्धन गरी विभिन्न मुलुकका पर्यटकहरु भित्र्याएर विकास गर्नुपर्छ।
टेक्नोलोजीले ल्याएका विकासमा बाँच्नुपर्ने युगमा मान्छे दुःख गरेर ३/४ घण्टा हिँडेर पाथीभरा जान्छ त ? युवाअवस्थाका मान्छेहरु जालान् । बुढाबुढी, बालबालिका, अशक्त, अपाङ्गलाई पनि त्यहाँ पुर्याउन त भनेर केवलकार बनाउने भन्या हो । हिँड्ने मान्छे त हिँड्छ नि । पाथीभरा केवलकार चढेरै जानुपर्छ भन्ने त छैन नि ।
वर्षौ पुरानो योजना आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले सञ्चालनमा ल्याउँदा किन विवादमा आयो ?
-पाथीभरामा होटेल बनाउँछ । हजारौँकाे जमिन किन्छ रे । उसैको गाडी चढ्न लाउँछ रे । उसैको होटलका बस्न लाउँछ रे भन्ने हल्ला चले । चन्द्र ढकालले बनाएको होटेलमा त भिआइपीहरु बस्ने हुन् । त्यहाँ सामान्य मान्छेहरु बस्न सक्छ ? अझ भन्ने हो भने मै बस्न सक्दिनँ । चन्द्र ढकालले १० प्रतिशत लैजाला, ९० प्रतिशत त यही कोशी प्रदेशमा रहन्छ नि । झण्डा, खुकुरी बोकेर हुँदैन । विकास के हो ? भविष्य के हो ? भोलि हाम्रा सन्ततीहरुको भविष्य कता सुनिश्चित गराउने ? भन्ने कुरा सोच्न आवश्यक छ ।
ताप्लेजुङ जिल्लामा नर्सरीदेखि प्लस टु सम्म पढने विद्यार्थीहरुको सङ्ख्या ५० हजार छ । कोशी प्रदेशमा २० लाख अवोध बालबालिका होलान । उनीहरुको भविष्य कहाँ सुनिश्चत गराउने ? गरी खाने ठाउँ नभएर पो विदेश पलाएन भइरहेका छन् युवाहरु। अहिले विदेशमा पनि कहाँ सजिलो छ र ? अहिले अमेरिकाले खेदिरहेको छ । भोलि जापान, कोरियाबाट खेदाउला । मलेसियाबाट खेदाउन थालिसक्यो । त्यहाँ पनि वैज्ञानिक विकास हुन थालिसक्यो । त्यसकारण कामदारको आवश्यक कम हुन थालिसक्यो । देशमा नागरिकलाई कसरी रोजगारी सिर्जना गरेर कसरी देशलाई समृद्ध बनाउन सकिन्छ ? भन्ने कुरामा ध्यान दिनुपर्छ ।
सरकारले पटक–पटक वार्ता गर्दा पनि विवाद समाधान भइरहेका छैन । के गर्नु पर्ला अब ?
-सरकारले जे गरेपनि यिनीहरु मान्ने पक्षमा छैनन् । यिनीहरु जसरी पनि राज्यलाई घुँडा टेकाउने पक्षमा हो । अब स्थानीय जनतालाई अधिकार दिनुपर्यो । जनमत संग्रह गराएर भएपनि स्थानीय तहलाई अधिकार दिनुपर्यो । स्थानीय जनताले बनाउन हुँदैन भने नबनाउने स्थानीय जनताले बनाउनुपर्छ भन्यो भने बनाउने । फुङलिङ नगरपालिकामा ९९ प्रशित स्थानीयवासी त बनाउनुपर्छ भन्ने पक्षमा छन् । राज्यको अन्तिम उपाय भनेको स्थानीयलाई निर्णय दिने अधिकार दिनुपर्यो । अब केवलकारको विवाद माथिल्लो तहबाट मिल्दैन ।





























प्रतिक्रिया