काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, “मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।”
उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनु पर्नेमा जोड दिए । उनले आफूले विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र अध्यक्ष ओलीले शनिबार पेश गरेको प्रस्तावमाथि छलफल गर्न यही मंङ्सिर १६ गते सचिवालय बैठक डाकिएको छ । नेकपाका केही नेताहरुले दुवै प्रस्ताव मिलाई एकल प्रस्ताव बनाउनुपर्ने माग पनि गर्दै आएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नयाँ पुस्तालाई एकीकृत, सग्लो, जीवन्त, वैचारिक रुपले स्पष्ट र देश तथा जनतालाई नेतृत्व गर्ने सामर्थ्यसहितको पार्टी हस्तान्तरण गरेर मात्र अवकाश लिने आफ्नो इच्छा रहेको प्रस्तावमा उल्लेख गर्दै अब नयाँ पुस्तालाई पार्टी जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गर्न सबै सचिवालय सदस्यलाई आग्रह पनि गरे।
अध्यक्ष ओलीले एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका कमिटीलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य काममा लगाउनु पर्नै बताउँदै भने, “तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।”
“विगत साढे दुई वर्षमा हाम्रा सम्पूर्ण प्रयास सामाजिक– आर्थिक रुपान्तरण र समृद्धि हासिल गर्ने दिशामा अभिमुख छन् । हामीले सामाजिक न्यायसहितको विकास र समृद्धिलाई आधारभूत मान्यता बनाएका छौँ,” उनले बैठकमा भने, “सामाजिक न्यायविनाको आर्थिक वृद्धिले मुठ्ठीभर सम्भ्रान्तहरुलाई मात्रै लाभान्वित गर्छ, तर आर्थिक वृद्धिविनाको वितरण मुलुकलाई झनै बढी आश्रित र खोक्रो बनाउने कुराको कारक बन्छ । तसर्थ यी दुईबीचको समुचित सन्तुलनमा जोड दिइएको छ । ”
उनले राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्र, संस्कृति र समग्रमा समाजमा श्रमजीवी वर्गको वर्चस्व स्थापित गर्दै सामन्तवादका अवशेष उन्मूलन गर्दै लैजाने बताउँदै भने, “राष्ट्रिय पूँजीको विकास गर्दै जान्छौँ । मुलुकलाई सापेक्ष आत्मनिर्भरताको दिशामा अगाडि बढाउँछौंँ । तीव्र आर्थिक वृद्धि र न्यायोचित वितरणबीच सन्तुलन मिलाउँदै लोक कल्याणकारी, सामाजिक न्याययुक्त र समाजवाद–उन्मुख आर्थिक सामाजिक प्रबन्ध बलियो बनाउँर्छौँ । हामी स्पष्ट छौँ– आज हामीले स्थापना गर्ने आर्थिक सामाजिक व्यवस्था समाजवाद–उन्मुख हो, समाजवादी होइन । त्यसैले समाजवाद–उन्मुख समाज व्यवस्थामा आजै समाजवादका लाभहरु खोज्नु सम्भव र उचित हुँदैन । ”





























प्रतिक्रिया