काठमाडौं । ‘आहुति’ नामले प्रसिद्ध विश्व भक्त दुलाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव, राजनीतिक विश्लेषक र लेखक हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली व्यवस्था स्थापनामा उनको भूमिका पनि महत्वपूर्ण नै छ । यतिबेला लामो समय संघर्ष र बलिदानले स्थापना गरेको गणतन्त्रात्मक व्यवस्थालाई मुर्दावाद भनेर अहिले राजतन्त्र जिन्दावाद भन्दै राजा फर्किने विषयले पछिल्लो समय राजनीतिक वृतमा निकै हलचल मच्चाएको छ । यो अवस्था कसरी सिर्जना भयो ? राजावादी सलबलाउनुको कारण के ? लगायत राजनीतिक समसामयिक विषयमा उनै महासचिव ‘आहुति’ सँग केन्द्रबिन्दुका लागि सुनिया पार्कीले गरेको कुराकानीको सम्पादित अंश-
लामो समयसम्म संघर्ष र बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई हटाएर राजतन्त्र फर्काउने विषय यतिबेलामा चर्चामा छ । यसमा तपाईंको धारणा के छ ?
-राजनीतिक क्षेत्रमा यो पनि एउटा विषय आइपुगेको छ । त्यस्तो पेचिलो स्तरमा छ भन्ने त म बुझ्दिनँ । तर यो विषय पनि पहिलादेखि सुसुप्त अवस्थामा अथवा सानो आकारमा त्यो थियो, अहिले केही हजार मान्छेको बीचमा यसले आकार लिएको छ ।
अब मैले बुझ्ने के हो त भने समाजमा कुनै पनि संस्थाको आवश्यकता भनेको तीन वटा कुराले निर्धारण गर्छ । एउटा आर्थिक कुराले निर्धारण गर्छ । दोस्रो राजनीतिक अधिकार अथवा राजनीतिक आवश्यकता र तेस्रो संस्कृतिको आवश्यकताले निर्धारण गर्छ ।
नेपालमा राजतन्त्र अथवा राजसंस्था थियो । तर, किन अन्त्य भयो त ? राजतन्त्र भनेको सामन्तवाद अथवा धेरै जमिन भएका मानिसहरुको स्वार्थ रक्षा गर्नलाई भूमिपतिको रुपमा चाहिने हो । नेपालमा त्यस प्रकारको धेरै जमिन भएको सामन्तहरुको अवस्था अन्त्य हुँदै गइसकेपछि, त्यसको भूपति ती सामन्तहरुको रक्षा गरिदिने त्यस्तो संस्था पनि नचाहिएको हो । त्यसकारणले राजतन्त्र नेपालमा नचाहिएको हो र अन्त्य भएको हो । किनकी त्यो आवश्यक नै भएन ।
दोस्रो कुरा, विगतको राजतन्त्र वा राजसंस्था कुनै चर्चित वा लोक कल्याणकारी वा राम्रो काम गर्ने पनि थिएन । हामी सबैलाई थाहा छ कि त्यो संस्थाले आफूभन्दा फरक विचार राख्नेलाई झुन्ड्याउने काम गथ्र्यो। मार्ने काम गथ्र्यो। छिन्ताङ हत्याकाण्डदेखि लिएर त्यसपछि पिस्कर हत्याकाण्ड होस् या चितवनको जुगेडीमा चेपाङहरुलाई मार्ने, ३६ सालको आन्दोलनमा मार्ने, भीमदत्तहरुको हत्याको प्रसंगदेखि लिएर लोकतान्त्रिक र आफ्नो मुक्तिको निम्ति लड्ने उत्पीडित समुदाय वा लोकतान्त्रिक मान्छेहरुको विरुद्ध त्यो संस्थाले नेतृत्व गथ्र्याे ।
नेपालमा अर्को ठूलो समस्या भनेको जात व्यवस्थाको हो । त्यो जात व्यवस्थालाई हिन्दु सम्राटको नाममा त्यसले रक्षा गथ्र्याे । त्यसले पितृसत्तालाई रक्षा गथ्र्याे र त्यो आफैँ पनि बदनाम संस्था थियो । त्यसको बदनामी कहाँसम्म पुग्यो त भने आफ्नै दरबारभित्र आफ्नै वंशको नास गर्ने स्तरसम्म र कसले नास्या भन्ने कुरासमेत पत्ता लाग्न सकेन । त्यसकारणले आर्थिक क्षेत्रबाट पनि राजतन्त्र रहनु पर्ने आधार रहेन । ठूला भूमिपतिहरु रहेनन् ।
राजनीतिक रुपमा पनि त्यसले निरंकुशताबाहेक केही पनि ल्याएन । त्यसले पञ्चायत कालको ३० वर्षसम्म समाजलाई कुच्याएर राख्यो । त्यसपछि बहुदल कालमा पनि त्यसले केही पनि गरेन र उनीहरुको नैतिक चरित्रको कोणबाट हेर्दाखेरि पनि हामी सबैलाई थाहा छ । राजसंस्थासँग सम्बन्धित व्यक्तिहरु, तिनका पात्रहरु र त्यसको अन्तिम उचाइ भनेको दरबार हत्याकाण्डसम्म त वंशै नास हुने स्थितिसम्म पुग्ने ठाउँमा पुग्यो । त्यो ठूलो भ्रम थियो जनतालाई कि विष्णुको अवतार भन्ने । विष्णुको अवतार त वंशै सिद्धिने स्थितिसम्म पुग्दो रहेछ ।
यति मात्र होइन, नेपाली जनता वाक्कदिक्क भएर अब यो संस्था आर्थिक रुपमा पनि आवश्यक रहेन । किनकी त्यसले कमाएर खुवाउने पनि होइन । तिनले जनताको सम्पत्ति बजेटमा विभाजन गर्दै लाखौं करोडौं रुपैयाँ खाइराखेको अवस्था थियो । कतिसम्म कमजोर भन्दा कति सरकारकै पैसाले दरबार बनाउने र सरकारलाई नै बेचेर खाने । त्यो सम्मको नैतिक चरित्र भएको संस्था भइसकेपछि अनि नेपाली जनताले त्यसलाई जनयुद्ध, जनआन्दोलनको माध्यमद्वारा, त्यो पनि फेरि आफ्नै देशमा हुर्केका मान्छेहरु त्यहाँ भएको हुनाले किन लखेट्ने ? किन रक्तपात गर्ने भनेर सहज ढंगले त्यो संस्थालाई अन्त्य गरिएको कुरा हो ।
राजतन्त्र अन्त्य हुने बेलासम्ममा राजसंस्थासँग सम्बन्धित व्यक्तिहरु आफैँ दलाल पुँजीपतिमा रुपान्तरण भइसकेका थिए । उनीहरु विदेशी कम्पनीहरुका एजेन्ट मात्र हैन, यहाँ सामान ल्याएर बेच्ने एजेन्ट इत्यादिको रुपमा उनीहरु भइसकेका थिए । उनीहरुको फेरि पुरै देशभक्त चरित्र पनि थिएनन् । त्यसकारणले नेपाली समाजमा त्यो संस्था चाहिए र अन्त्य भयो ।
अहिले त ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएर युवाहरु पनि सडकमा गएको देखिन्छ । वर्तमान व्यवस्था र सरकारबाट वाक्क दिक्क भएका सर्वसाधरणलाई कसरी बुझाउने त ?
-जसले राजसंस्था फर्काउन पर्यो भनिराख्या छन्, फर्केपछि के हुन्छ भनेर युवाहरुले सोधिदिए हुन्थ्यो । रनभुल्लमा परेर कोही जुलुसमा गएको छ भने कसैलाई त्यस्तो लाग्या छ भने उनीहरुले सोध्नु पर्यो । राजसंस्था फर्कियो भने नेपालमा भूमि सुधार हुन्छ ? किसानहरुले जमिन पाउँछन् ? राजसंस्था फर्कियो भने ८० लाख नेपालीहरु विदेश जानु पर्ने अवस्थाको अन्त्य हुन्छ ? यहाँ उद्योग धन्दा खुल्छ ? कसरी खुल्छ त ? कार्यक्रम चाहियो नि ।
नेपाली समाजलाई विश्व बैंक र आइएमएफ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले जसरी नवउदारवादको चक्करमा २०४४ सालबाट फसाएर नेपालको उद्योगधन्दा नष्ट गरिएको छ । के राजसंस्था फर्कियो भने आइएमएफ र विश्व बैंकको डिजाइनअनुसार नचल्ने प्रतिबद्धता छ त ? छ भने पुँजी उत्पादनको उसँग योजना के छ त ? त्यो त केही पनि छैन । त्यसकारण आर्थिक क्षेत्रको प्रगतिको योजना उसँग केही पनि छैन भन्ने बुझिन्छ ।
अब नेपाली संस्कृतिको रक्षाको कुरा गर्ने हो भने राजसंस्थाका मान्छे सबै नै लन्डन गएर पढ्ने खालका हुन् । सेन्ट जेभियर्स पढ्ने, लन्डन गएर पढ्ने, अनि उहाँहरुले देशको संस्कृतिको रक्षा गर्या छ त कतै ? देशमा मुर्तिहरु बेच्ने इत्यादिको आरोप पनि उनीहरुमाथि नै छ । त्यही मुर्ति अहिले भर्खर यो गणतन्त्रकालमा अलिअलि फिर्ता हुन थाल्या छ । त्यसकारणले कुनै कोणबाट पनि आर्थिक प्रगति हुने एजेण्डा देखिँदैन ।
अब सांस्कृतिक कुरा गर्ने हो भने नेपाली समाजमा ३५५ भन्दा बढी आदिवासी जनजातिहरु छन् । पौने पाँच प्रतिशत जति मुस्लिमहरु छन । १३५ भन्दा बढी, १४ प्रतिशत हाराहारी दलितहरु छन्् । यहाँ विविध धर्म, विविध सम्प्रदायका उत्पीडित जनता छन् । राजसंस्था हिन्दु सम्राट हुने भन्ने कुरा छ फेरि । भनेपछि एक धर्मको नीति अन्तर्गत जान नेपालका मुस्लिमहरु तयार छन् त् ? गएर फाइदा हुन्छ त ? नेपालका बुद्धिस्टहरुले त्यसलाई मान्छन् त ? मान्न हुन्छ त ? यहाँ सबै धर्मका मान्छेहरु र यहाँका नास्तिकहरु पनि मिलेर बस्नु पर्ने होइन यो समाजमा ? मिलेर बस्नका निम्ति चुलीमा बस्ने मान्छे एउटा धर्मको सम्राट बन्दिने अनि त्यसको कारणले यहाँको युवाहरुको प्रगति हुन्छ कतै ? यो त हुने कुरा होइन नि । सांस्कृतिक रुपमा पनि त्यो संस्थाले एकताबद्ध गर्दैन । त्यसले फुटाउने कुरा गर्छ । त्यसले टुक्रा–टुक्रा पार्ने कुरा गर्छ ।
एक धर्मलाई सबभन्दा माथि राख्ने र अरु हाम्रा साना–माना हुन्, हाम्रा छत्रछायाँमा बस्ने हुन् भनेपछि अरुलाई चित्त बुझ्छ ? त्यो मिल्छ ? समाज एकताबद्ध हुन्छ त्यहाँबाट ? हुँदैन ।
अर्को कुरा, राजसंस्थालाई पाल्छ कसले ? यहाँ मान्छे घर चलाउन नसकेर, बुढाबुढीको उपचार गर्न नसकेर, बच्चाहरुलाई पढाउन नसकेर मान्छे कतार र साउदीको ४० डिग्री भन्दा बढीको घाममा खट्नु परेको छ । अनि हामी कामै नगर्ने संस्थालाई बजेटमा ल्याएर लाखौं खर्च गर्ने संस्था खडा गर्ने नेपालमा ? त्यो कुनै अर्थको कुरा हो ? उनीहरुले काम गरेर खानु पर्दैन ? उनीहरुले काम गर्नुपर्छ कि पर्दैन ? उनीहरुले श्रम गर्नु पर्दैन ? उनीहरु त्यत्तिकै जनताको पैसामा दरबारमा बसेर खान पाउने संस्था राख्न हुन्छ हामीले ? त्यो त हुँदैन नि ।
त्यो नहुने कुरा गरेर मान्छेलाई भड्काएर त्यो गर्ने कुरा त्यो कुरा मिलेको छैन । अब कसलाई हो यो ? कसलाई चाहिएको छ त ? भन्दाखेरि अहिलेको व्यवस्थाद्वारा हैन, अहिलेको व्यवस्थाद्वारा पहिला खाईपाई आएका चिजहरुलाई जसले खान पाएनन््, ती पुरानै दिन ल्यायो भने फेरि हाम्रो मोजमस्ती गर्ने दिन आउथ्यो कि भन्ने केहीलाई परेको मात्रै हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भएको व्यवस्थामा राजा सक्रिय हुने विषय सलबलाउनको कारण के त ?
-पहिलो कुरा, यो धर्मनिरपेक्षता, सबै धर्मका मान्छेले अधिकार पाएको, समानता अनुभूति गर्न पाएको, त्यसपछि सबै मान्छेहरुले लेख्ने, बोल्ने, सभा सम्मेलन गर्न पाएको हो अनि सबै मान्छेले चुनिन पाउने अधिकार पाएको र कोही पनि मान्छेको टाउकोमाथि आकाश बाहेक केही पनि नहुने मान्छे नै नागरिकहरु नै सर्वेसर्वा हुने कुरा केही जमातलाई पचेको छैन । अर्को के भयो त भने यो गणतन्त्रमा स्थापित भएका राजनीतिक पार्टीहरुले फेरि देशलाई ठीक ढंगले अगाडि बढाउन सकिरहेका छैनन् । किनकि उनीहरुसँग देशलाई अगाडि बढाउने ठीक कार्यक्रम बनिरहेको छैन ।
अनेक भ्रष्टाचारदेखि लिएर अनेक कुरामा राइँदाइँ चलिरहेको छ । त्यसको निराशाले पनि मान्छेहरुलाई अर्को केही कुरा भयो भने हुन्थ्यो कि भनेर कतिपय युवाहरुलाई भ्रम पर्न गएको छ । त्यो अस्तिको जमातमा पनि देखियो । त्यो किन भएको त भने कुनै पनि नयाँ राजनीतिक व्यवस्था स्थापना गरिसकेपछि, त्यसलाई पुस्तामा त्यो किन आवश्यक थियो हो र पुरानो व्यवस्था कति खराब थियो भनेर उसलाई सांस्कृतिक रुपमा प्रशिक्षण गर्नुपर्ने हुन्छ नि त । त्यो प्रशिक्षण पुगेको छैन ।
बुझ्नुपर्ने कुरा के छ भने, हामी जुन स्थितिमा छौं, त्यो खराब स्थितिमा छौं भने त त्योभन्दा राम्रो स्थितिमा पो जान संघर्ष गर्ने हो त ? त्योभन्दा झन् खराब स्थितिमा जान संघर्ष गर्ने त होइन नि । तपाईंसँग मान्नुस १० रुपैयाँ पैसा छ । तपाईंलाई चाहिएको छ २० रुपैयाँ । अब तपाईं ९ रुपैयाँ कमाउने तिर जाने कि ११ रुपैयाँ कमाउने तिर जाने हो ? यो समाजमा अहिले समस्या छ भन्दै त्यो यो समाजभन्दा बेटर यो भन्दा झन् क्रान्तिकारी समाज बनाउने तिर पो संघर्ष जानुपर्यो । पुरानो सडेगलेको चिहान खन्ने तिर गएर कसैको प्रगति त हुँदैन नि ।
पहिले भन्दा यो व्यवस्था चाँही कसरी उन्नत छ ? जनता त वाक्कदिक्क भएका छन् । नयाँ विकल्प खोज्ने बाटोमा लागेको देखिन्छ नि ?
-पहिलो कुरा, अहिलेको व्यवस्था हिजोको भन्दा एक कदम अगाडि छ । दोस्रो कुरा यो व्यवस्थाभन्दा अझ अगाडि जानुपर्ने छ । हामी क्रान्तिकारी बाटोमा जानु पर्ने छ, परिवर्तनको बाटोमा जानुपर्ने छ, क्रान्तिको बाटोमा जानु पर्छ, संघर्षको बाटोमा जानु पर्छ तर संघर्षको बाटोमा जाने भनेको पछाडि फर्किने भनेको त होइन नि ।
एउटा बच्चाले प्रगति गर्नुपर्छ भन्या मर्ने भन्या हो त ? ऊ त झन् युवा हुँदै पो जाने भन्या हो । हो अहिले समस्याहरु छन् । त्यो समस्या अहिलेको मात्रै होइन नि । यो त पुरै पञ्चायतकाल, राणातन्त्रदेखि रोपिँदै, रोपिँदै आएको समस्या हो । यसलाई समाधान गर्न नयाँ प्रणालीमा जानुपर्छ, समाजवादी व्यवस्थामा जानुपर्छ । श्रमिकहरुको मुक्ति हुने व्यवस्थामा जानु पर्छ, आम जनताले झन् अधिकार पाउने व्यवस्थामा जानु पर्छ ।
कहाँ सडेगलेको संस्थालाई फेरि ल्याएर अधिकार हुन्छ त ? त्यो त हुने कुरा होइन नि । अगाडि जानुपर्छ, त्यो कुरा ठिक छ । त्यसको निम्ति संघर्ष गर्नुपर्छ, त्यो कुरा ठिक छ अनि त्यहाँ विभिन्न राजनीतिक आन्दोलनहरु चलिराख्या छन, त्यो कुरा ठिक छ तर पछाडि फर्किने कुरा ठिक छैन ।
अब संघर्ष त्यो जनताका लागि, जनतामुखी हुने कामका लागि राजनीतिक दलहरुले, यो सरकारले गर्छ त ? अहिलेको राजनीतिक सत्तामा पुगेको अथवा सरकारमा चलाइरहेका संसदवादी दलहरुले आफूलाई पुरै रुपान्तरण गर्ने दिशामा, जनताप्रति उत्तरदायी हुने दिशामा ल्याउनका निम्ति पनि हो । ल्याउन सकेनन् भने उनीहरुको पतन हुन्छ र नयाँ दलहरु जन्मिन्छन्, नयाँ क्रान्तिकारी दलहरुले आउँछन् । सडेगलेको संस्था आउँछ त ? आउँदैन नि ।
नयाँ क्रान्तिकारी शक्तिहरु आउँछन नि । जस्तो कि हिजो कांग्रेसले काम ठीक गर्न नसकेपछि एमाले आयो । एमाले कांग्रेसले ठीक गर्न नसकेपछि माओवादी जस्ता शक्तिहरु आए, जसले गणतन्त्र र संघीयतासम्म देशलाई लिएर गए । यिनीहरुले पनि गर्न नसकेपछि त्योभन्दा क्रान्तिकारी शक्ति आउँछ अनि देशलाई लिएर जान्छ अगाडि । त्यो पो मुख्य कुरा हो त ।
तर पछिल्लो समय प्रमुख दल नै सत्ताको वरिपरि घुमिरहेका छन्, अपेक्षाकृत प्रगति हुनसकेको छैन । नयाँ शक्तिहरु पनि उदाए, तर ओझेलमा परे जस्तो देखिन्छ नि ?
-नयाँ शक्ति उदाएका होइनन्, नयाँ नामका पार्टीहरु उदाएका हुन् । उनीहरुसँग नयाँ कार्यक्रम थिएन । उनीहरुसँग एमाले, कांग्रेस, माओवादीसँग भएको कार्यक्रमभन्दा केही पनि फरक थिएन तर वाक्कदिक्क देखेर मान्छेले नयाँ नामको पार्टीलाई नयाँ शक्ति ठाने । जसको कारणले त्यो उनीहरु पनि नयाँ हुन सकेनन् ।
हामीले निर्माण गर्ने भनेको नयाँ कार्यक्रम, नयाँ रणनीति, नयाँ उद्देश्य, नयाँ नैतिकता र नयाँ भावनासहितको आर्थिक क्षेत्रमा पनि, राजनीतिक क्षेत्रमा पनि, सांस्कृतिक क्षेत्रमा पनि समग्रतामै क्रान्तिकारी चेतना र कार्यक्रमसहितको त्यस्तो राजनीतिक आन्दोलन, त्यस्तो राजनीतिक पार्टी जन्माउनुपर्ने हुन्छ । जन्मिराख्या छन र तिनीहरु विकसित हुने क्रममा छन् । त्यसले लिन्छ नि एकचोटि ठाउँ त । समय त लिइहाल्छ नि । कुनै पनि आन्दोलन निर्माण गर्नलाई समय त लिन्छ । तर यसको मतलब के होइन त भने पछाडि फर्केर कसैको प्रगति हुँदैन । पछाडि फर्केर प्रगति हुन सक्दैन । सबै अब अहिलेको आवश्यकता के छ त भने सबै गणतन्त्रवादीहरुले जवाफ दिनु पर्याे । नयाँ युवा पुस्तालाई प्रशिक्षित गर्नुपर्याे ।
राजा फर्किने विषय अहिले राष्ट्रिय स्तरमै चर्चामा आएदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्यूले गणतन्त्र पनि हाम्रै पालामा आएको हो, स्थापना भएको हो, त्यसैले संरक्षण पनि हाम्रै नेतृत्वमा हुन्छ भनेर जनप्रर्दशनको तयारी गरिरहेका छन् । तपाईं पनि त्यो जनप्रदर्शनमा सहभागी हुने कि नहुने ?
माओवादी केन्द्रको नेतृत्वमा गणतन्त्रको पक्षमा जनप्रर्दशनको तयारी भइरहेको छ, तपाईं पनि सहभागी हुनसक्ने सम्भावना कति छ ?
-गणतन्त्रको पक्षमा रहेका गणतान्त्रिक शक्तिहरु त स्वभाविक रुपमा एक ढिक्का छन्, हुन्छन् । आवश्यक पर्यो भने फेरि लड्छौँ । त्यसमा के विवाद छ र ? नेपालमा गणतन्त्रवादीहरुको संख्या कम भएर यस्तो हल्ला भएको र ? गणतन्त्रवादीहरु त शान्त ढंगले आफ्नो व्यवस्था अगाडि बढाउनका निम्ति अथवा नयाँ क्रान्तिकारी व्यवस्था ल्याउनका निम्ति उनीहरु काम गरिरहेका छन् ।
यो भन्दा बेटरको निम्ति काम गरिरहेका छन । त्यही बीचमा राजतन्त्रवादीहरुको अलि–अलि कुरा आयो भनेपछि आवश्यकता अनुसार उनीहरु एकताबद्ध पनि हुन्छन, आवश्यकता अनुसार संघर्ष पनि गर्छन्।् । सबै कुरा गर्न तयार हुनुपर्छ नि । हामी पनि तयार छौं, सबै तयार हुनुपर्छ । गणतन्त्रको मुद्दामा एक ठाउँमा किन नआउने र ?
पटकपटक सरकारबाट जनता निराश हुँदा खास कमजोरी केमा हो ? नीति फेर्न आवश्यक छ कि नेतृत्व ?
-मुख्य समस्या यो राजनीतिक व्यवस्था र यो राजनीतिक व्यवस्थाले जस्ता संस्थाहरु, संरचनाहरु र कार्यप्रणाली बनाएको छ, समस्या त्यहाँ छ । त्यसकारणले यही व्यवस्था मार्फत प्रगति गर्छु भन्नेहरुले आफ्नो कार्यप्रणालीदेखि लिएर, आफ्नो नेतृत्व प्रणालीदेखि लिएर हर चिज परिवर्तन गर्नुपर्याे । कम्तिमा यो संविधानमा भएका गलत चिजहरु संशोधन गर्न तयार हुनुपर्यो नि । कम्तिमा, अनि नेपालका उत्पीडितहरुको अधिकारलाई ग्यारेन्टी गर्न थाल्नुपर्याे । मिटर ब्याजका पीडितहरुको हालत चौपट भएको छ ।
त्यसकारण ती सबैको बारेमा यो सरकारले, यो व्यवस्थाले आधारभूत नीतिमा फेरबदल गर्न तयार हुनुपर्याे । हामी जस्ता शक्तिहरुले हैन, यो सरकारलाई, यो व्यवस्थालाई त्यसो गर्न बाध्य पार्नका निम्ति संघर्षको उठान गर्नुपर्याे । यहाँबाट अब समाज अगाडि जाने हो ।
सरकारको आलोचना गर्दै कमरेड प्रचण्ड ज्यूले भन्नुभएको छ, राजा सल्बलाउनुको प्रमुख कारण नै कांग्रेस–एमालेको सरकार हो । उहाँको मतमा तपाईं सहमत हुनुहुन्छ?
उहाँको सरकार हुँदा चाहिँ के गर्नुभएको थियो उहाँले ? सरकार हुँदाखेरि पनि जोगी पुज्दै हिँडेका हैनन् उहाँहरु ? माला लाउँदै, जोगी जोगी पूजा गर्दै, आफ्ना सांसदहरुमार्फत मन्दिर बनाउने पैसा खर्च गर्दै हिँडेको हो कि होइन ? त्यसकारणले संसदवादी पार्टीहरु सबैको कसैको १९ होला, कसैको २० होला । तर सबैको गलत रबैया यसमा जिम्मेवार छ ।
राजनीतिक वृत्तमा एक अर्कामा आरोप प्रत्यारोप लगाउने जुन परिपाटी छ । यस्तो नगरे हुँदैन ?
-आरोप प्रत्यारोप लगाएर प्रगति नभएको होइन । आरोप प्रत्यारोप बाहेक अरु काम नगरेपछि प्रगति नभएको हो । कामको परिणाम ल्याउन परिवर्तन ल्याउनु पर्यो नि। काममा परिवर्तन नल्याउने अनि आरोप प्रत्यारोप राखेर आफ्ना कमजोरी छोप्न मात्रै खोज्ने जो प्रवृत्ति छ संसदवादी राजनीतिक वृत्तमा, त्यो प्रवृत्ति हानिकारक छ ।
मुख्य कुरा त्यो व्यवस्थामा भएका खराबी हटाउन तयार हुनु परेन ? पर्यो नि । त्यो व्यवस्थामा भएका खराबीहरु हटाउने र आम जनतालाई अधिकार सम्पन्न बनाउने र आर्थिक क्षेत्रमा हिस्सेदार बनाउनेतिर लिएर नगइकन अनि व्यवस्थाको संकट हल हुन्छ त ? हल हुँदैन नि । के गर्नुपर्यो ? समाधानको उपाय अब के हुन्छ ? यो व्यवस्थामा रहेका, आर्थिक क्षेत्रमा रहेका समस्या, राजनीतिक क्षेत्रमा रहेका समस्या, सांस्कृतिक क्षेत्रमा रहेका समस्याहरुलाई समाधान गर्नका निम्ति यो राज्य सत्ता तयार हुनुपर्यो । परिमार्जन गर्दै अगाडि बढ्नलाई तयार हुनुपर्यो नि।
जनताले आफ्नो देशभित्र बसेर निशुल्क उपचार गर्न पाउनु पर्दैन ?जनताले एकै प्रकारको शिक्षा निःशुल्क ढंगले पढ्न पाउनुपर्छ कि पर्दैन ? पाउनुपर्छ नि । कम्तिमा यति दुईवटा काम त गर्न थाल । आफैं निजी स्कुल खोल्दै हिँड्या छ । पार्टीका नेताहरुका स्कुल, नेताहरुको हस्पिटल बनाउँदै हिँड्या छ । अनि जनता मारमा परेको छ, अनि जनता रिसाउँछ कि रिसाउँदैन ?
त्यसकारण जनतालाई सुविधा दिने कुरामा जनताको अधिकार दिने कुरामा यो व्यवस्थालाई पूर्ण समर्पित गर, परिमार्जित गर, कम्तिमा सुधार त गर्न थाल अनि आरोप प्रत्यारोप गर्नै पर्दैन नि । आफैँ निजी हस्पिटल खोल्ने, अनि कसरी जनताले सुविधा पाउँछ ? आफैं निजी स्कुल चलाउँदै जाने अनि जनताले कसरी सुविधा पाउँछ ? पाउँदैन नि ।
यो व्यवस्थामा रहेको आर्थिक क्षेत्रको समस्या, राजनीतिक क्षेत्रको समस्या र सांस्कृतिक क्षेत्रको समस्यालाई समाधान गर्नका निम्ति योजनाबद्ध रुपमा संसदवादीहरु तयार हुनुपर्ने हुन्छ । होइन भने वास्तविक समाजवादीहरुले र जनताले उनीहरु यो यो व्यवस्थालाई परिमार्जन गर्ने ढंगले नयाँ संघर्षमा अगाडि आउँछन् । तर जनता पछाडि त फर्किँदैनन् नि । केही राजावादी पछाडि फर्किन खोजेर आम जनता फर्किन्छ ? पछाडि फर्किँदैन, जनता अगाडि जान्छ ।
जसरी नैराश्यता छाएको छ जनताहरुमा, तिनीहरुले त अब ‘राजा आऊ देश बचाऊ’ भनेर सडकबाट नाराहरु लगाइरहेका छन नि । राजसंस्था किन फर्किनु हुँदैन भनेर तिनीहरुलाई सम्झाउन, बुझाउन सकिन्छ ?
-किन नसकिने ? जो मान्छे नियतपूर्वक नै समाजलाई पछाडि फर्काउन खोजेको छ, त्यसको भण्डाफोर गरिनुपर्यो । उसको के नियत हो भन्ने कुरा कस्ता–कस्ता मान्छे लागेका छन् ? सबैलाई थाहा छ नि त । हिजो उनीहरु के गर्थे ? आज उनीहरु के गरिराख्या छन् ? भन्ने कुरा देखिन्छ नि त ।
त्यसकारण ती तत्वहरु कस्ता छन्, उनीहरुको नियत के हो, सबैले बुझ्ने कुरा हो । आम जनताको एउटा सानो हिस्सा पनि त्यसमा भ्रमित छ भने, त्यसलाई हिजोको बिगत के हो ? कसरी दर्जनौँ वर्ष मान्छेले रगत बगाए ? त्यो कोपभाजनबाट निस्किएको हो । कसरी नयाँ युगमा हामी जानु पर्ने हुन्छ र अबको परिवर्तन अझै यो भन्दा राम्रो गर्दै जानुपर्ने हुन्छ भन्ने कुरा बुझाउने काम त गणतन्त्रवादीहरु, आम नागरिक समाज, बौद्धिक समाज लगायत सबैले त्यो ढंगले मेहनत गर्नुपर्ने हुन्छ।
नेताका यो गर्छाै त्यो गर्छाै भन्ने कुराहरु भाषणमै सिमित रहन्छ । त्यसका लागि व्यवहारमै उतार्न अरु केहि गर्न सकिँदैन ?
-सकिन्छ । गणतन्त्रवादीहरु सबैले आफ्नो कार्यक्रम बनाउनुपर्याे । सरकारले पनि कार्यक्रम बनाउनुपर्यो । स्कुल, कलेजमा कार्यक्रमहरु बनाउनुपर्याे । विद्यार्थी युनियनहरुले कार्यक्रम बनाउनुपर्याे । युनिभर्सिटीहरुले कार्यक्रम बनाउनुपर्याे । सांस्कृतिक संस्थाहरुले कार्यक्रम बनाउनुपर्याे । इतिहास त ठिक ढंगले बुझाउनुपर्यो नि ।
राजा स्वागत गर्ने र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि देखियो । त्यसमा गणतन्त्रवादीहरुले बाह्य शक्तिबाट परिचालन गरिएको भन्ने टिप्पणी गरे । त्यसमा तपाईंको धारणा चाहिँ के छ ?
-यत्तिकै त योगी आदित्यनाथको त्यत्रो ठूलो तस्बिर त सडकमा कसैले फाल्न ल्याएन । जो मान्छेहरुले बोकेका थिए, तिनको पनि तस्बिर प्रष्ट छ । त्यसकारणले गर्दाखेरि जनताले जे आशंका गरेका छन् । त्यो आशंका त पुष्टि नै भयो नि । किनकि ती योगी भारतको एउटा प्रदेशका मुख्यमन्त्री हुन् । कुनै दार्शनिक त होइनन् । वैज्ञानिक पनि होइनन् । न कुनै ठूलो विश्वव्यापी मान्ने राजनेता हुन । केही पनि होइनन नि त । तिनको तस्बिर प्रद्धर्शनमा राख्नुपर्ने हो भनिसकेपछि स्वभाविक रुपमा केही न केही प्रभावित छ । केही न केही बाह्य विभिन्न तत्वहरुले वा शक्ति केन्द्रहरुले आफ्नो निहित स्वार्थ पूर्तिका निम्ति जनतामाथि एउटा भ्रम फिँजाइरहेका छन भन्ने कुरा त छर्लङ्गै भयो नि त्यो त ।
नेपालमा मैले भन्ने कुरा के हो त भने नेपालमा राजसंस्था चाहिएको पनि हिन्दुत्ववादीहरुलाई नै हो । किनकि भारतमा राजसंस्था फर्काउने भन्ने हुँदैन । किनभने विशाल जनमत चाहिँ अर्कै छ त्यहाँ । नेपालमा चाहिँ अलि सानो पनि देश, जनसंख्या पनि कम, भारतका हिन्दुत्ववादीहरुले यहाँ अलिकति मेहनत गरेर आफ्नो हिन्दुत्वलाई बलियो बनाउन सकिन्थ्यो कि भन्ने अर्थमा उनीहरुले घुसपैठ गर्ने कुरा पनि भयो । उनीहरुले कयौँ तत्वहरुलाई परिचालित गर्ने कुरा पनि भयो । उनीहरुले प्रयत्न गर्ने कुरा स्वभाविक भयो ।
तर नेपाली जनताले त्यो कुरा बुझेका छन् । नेपाली जनताले लडेर, मरेर, आफ्ना सन्तान गुमाएर निर्माण गरेको व्यवस्था हो याे । २०४७ साल भन्दा अगाडि देखि संघर्ष गरेको होइन राजतन्त्रको विरुद्धमा जनताले ? यत्रो ३, ४ पुस्तासम्म संघर्ष गरेर बनाएको संस्कृति, आधार कसैले चाहने बित्तिकै भत्किन्छ ? मलाई त्यसमा विश्वास छैन ।





























प्रतिक्रिया