पाटन (ललितपुर) । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को चालू अधिवेशनबाट शिक्षा ऐनसहित दर्जनौँ ऐन पारित हुने बताएका छन् ।
निर्भाणा माध्यमिक विद्यालयको आज आयोजित ३९औँ अभिभावक दिवसका अवसरमा अध्यक्ष दाहालले जनताका मौलिक हकअधिकार कार्यान्वयनका लागि ऐन पारित गर्न आवश्यक रहेको चर्चा गर्दै संसद्को चालु अधिवेशनबाटै ऐनहरु पारित हुने बताएका हुन् ।
“हामी अझै पञ्चायतकालीन ऐनबाट निर्देशित हुन परिरहेको छ, ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको कुरा म आफैँलाई अनुभूत भएको छ”, उनले भने, “शिक्षासँग प्रत्यक्ष सरोकार राख्ने विद्यालय शिक्षा विधेयक अहिले प्रतिनिधिसभामा छलफलकै क्रममा छ । यो विधेयक दुवै सदनबाट पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।”
अध्यक्ष दाहालले अहिले दुवै सदनमा निजामती विधेयक, प्रहरी समायोजनलगायतका विधेयक छलफलमा रहेको जानकारी गराए । “शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, समाजलाई समुन्नत बनाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ, शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ”, उनले भने ।
उनले निर्भाणा विद्यालयले ‘संस्कारसहितको व्यावहारिक शिक्षा’लाई मूल उद्देश्य बनाएकामा खुसी व्यक्त गर्दै शिक्षा ज्ञान आर्जन गर्ने प्रक्रिया मात्रै नभई व्यक्तिको चरित्र निर्माण गर्ने मुख्य आधार हो भने ।
“मेरो बुझाइमा संस्कारसहितको शिक्षा भनेको विद्यार्थीलाई किताबी ज्ञान दिनुमात्र होइन, उनीहरूलाई नैतिकवान्, इमान्दार, जिम्मेवार र अनुशासनजस्ता मानवीय गुणहरू पनि सिकाउनु हो, त्यस्तै व्यावहारिक शिक्षा भनेको जीवनोपयोगी सीपहरू समस्यासँग जुध्ने क्षमता, आत्मनिर्भर र समाजसँग सकारात्मक रूपमा अन्तरक्रिया गर्न सक्ने क्षमता विकास गर्नु हो । जब यी दुई पक्षलाई एकसाथ जोडिन्छ, तबमात्र सम्पूर्ण शिक्षा प्रणालीले व्यक्तित्वको समग्र विकास गर्न सक्छ”, उनले भने ।





























प्रतिक्रिया