काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
तराई–मधेस जागरण अभियान अन्तरगत प्रेस सेन्टर नेपाल, पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको उनले स्पष्ट पारे ।
उनले भने,‘सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त हुँदैन । सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको थियो । मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम सरकारमा रहँदा गरिएको प्रष्टै छ । आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको छ । सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’
ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेर राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको उनको टिप्पणी छ ।
संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको बताए ।
त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने जानकारी दिए ।





























प्रतिक्रिया