तीन महिना १४ दिनपछि गुरागाईं कार्यालयमा, उपप्रमुख डंगोलले गरिन् बालेनकाे चर्को आलोचना

तीन महिना १४ दिनपछि गुरागाईं कार्यालयमा, उपप्रमुख डंगोलले गरिन् बालेनकाे चर्को आलोचना

केन्द्रबिन्दु
552
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ठ्याक्कै तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिना अघि पत्र पठाएको थियो । पत्र पठाएको ठ्याक्कै एक महिनापछि आज गुरागाईं महानगर पुगेका हुन् ।

उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै रहेका छन् । मेयर बालेन साहले उनलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे पनि नगरप्रहरीको अवरोध छिचोल्दै गुकार्यालय प्रवेश गरेका छन् ।

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा कार्यकक्षमै चावी लगाइएकाे छ । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरुसहितकाे बैठक बसेकाे थियाे । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरेकी छन् ।

उनले हरेक घटनाक्रमा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिएकी छन् ।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबिच लडाईं हुनु पनि राम्रो होइन ।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानविन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’ उनले भनिन् ।

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्छ भनिन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि वोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’ उनले भनिन् ।

यद्यपि गुरागाईंलाई इन्ट्री नदिने अडानमा महानगरका मेयर बालेन हुँदा समस्याले अझै उग्र रूप लिने देखिन्छ । काठमाडौं भ्यू टावरमा तला थप्न अवैध तरिकाबाट गुरागाईंले स्वीकृति दिएसँगै मेयर बालेन उक्त विषयलाई लिएर रुष्ट भएका हुन् । जसका कारण उनी निलम्बनमा परेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उनलाई दिन नहुने भन्दै मन्त्रालयलाई नयाँ अधिकृतको माग बालेनले राख्दै आएका छन् । तर, मन्त्रालयले गुरागाईंलाई नै जिम्मेवारी दिएर कामकाज अगाडि बढाउन अनुमति दिएसँगै आज उनी जिम्मेवारी समाल्न महानगर आइपुगेका हुन् ।

महानगर अधिकृत विहीन हुँदा ४ महिनादेखि कर्मचारीले तलब पाएका छैनन् ।

प्रशासकीय अधिकृत नहुँदा बालेनले व्यवस्था गर्न नसकेको भन्दै कर्मचारी समेत उनीदेखि आक्रोशित छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले प्रशासकीय अधिकृत बिना कर्मचारीको तलब दिन सम्भव नभएकाले विकल्प नहुँदा गुरागाईंलाई इन्ट्र्री दिइएको बताए ।

Skip This
Skip This
Logo