काठमाडौं । राजसंस्थाको वकालत गर्ने राजावादीहरूले यही चैत१५ गते शुक्रबार तीनकुनेमा गरेको विध्वंसात्मक प्रदर्शनपछि राजनीतिक माहोल एकाएक गर्मायो । गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रिय हुने इच्छा देखाएसँगै राजावादीहरू राजसंस्था पुनर्स्थापनाका लागि सडकदेखि सदनसम्म सलबलाएका छन् ।, तीनकुनेको प्रदर्शन त्यसैको उपज हो ।
तीनकुनेमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । उक्त प्रदर्शनलाई कमाण्डिङ गरेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्न गाडीलाई हतियारको रूपमा प्रयोग गरेपछि माहोलले झनै उग्र रूप लिएको थियो ।
सो प्रदर्शनको स्थिति प्रहरीको नियन्त्रण बाहिर भएपछि पत्रकारसहित दुई जना युवकको ज्यान गयो ।
उक्त प्रदर्शनमा सुरक्षाकर्मीसहित १०० भन्दा बढी घाइते भएका थिए । कम्तीमा २० जनालाई प्रहरीले चलाएको गोली लागेको छ । गोली लागेका केहीले आफू प्रदर्शनमा सहभागी नभएको दाबी गरेका छन् । गम्भीर अवस्थामा भएका ती मध्ये केहीको राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घटनामा संलग्न राप्रपाका नेता रवीन्द्र मिश्र र धवलशमशेर राणा सहित ५० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरी अहिले हिरासतमा राखेको छ । जसमध्ये कतिपयलाई राज्य द्रोह र सङ्गठित अपराधमा अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
दुई दशकअघिको जनआन्दोलन र त्यसको बलमा गठित संविधानसभाबाट गद्दीच्यूत गराइएका ज्ञानेन्द्र शाहलाई पुनः नारायणहिटी फर्काउने भन्दै राजावादीहरूले चलाएको अभियानको नाममा गरेको हिंसा र प्रदर्शनले ज्ञानेन्द्रमाथि नै प्रश्न उठाएको छ । यति मात्रै होइन, प्रदर्शनका लागि प्रसाईंलाई कमाण्डर बनाएर आन्तरिक सहयोग गर्नु, राप्रपा र राप्रपा नेपालका शीर्ष नेतृत्वप्रति उपेक्षा गर्नु ज्ञानेन्द्रले आफ्नो खुट्टामा बन्चरो आफैं हान्नु सरह भएको प्रष्टै देखिन्छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वार्थ अनुकूल वातावरण पाउन नसकेपछि राजातर्फ फर्किएका प्रसाईंले पछिल्ला वर्षमा नेताविरुद्ध सामाजिक सञ्जाल र मूलधारबाहिरका मिडिया (युट्युब)मार्फत समाजमा वितृष्णा र घृणा फैलाउँदै आइरहेका छन् ।
चैत १५ गतेको प्रदर्शनमा जुन प्रकारका घटना घटे, त्यसलाई जोडेर गणतन्त्रवादीहरूले तथानाम कुरा गरेर राजा ज्ञानेन्द्रलाई तान्ने कोशिस गरेको राप्रपाका नेता तथा सांसद बुद्धिमान तामाङले बताए । केन्द्रबिन्दुसँग कुरा गर्दै उनले भने ‘चैत १५ गते राजसंस्था पुनर्स्थापनाको लागि राजावादी साथीहरूले गरेको प्रदर्शनले पुर्याएको क्षतिलाई लिएर राजाले उचालेको भन्ने हल्ला फैलिएको छ, राजाका विषयमा जसरी पछिल्लो समयमा अफवाह फैलिएको छ, त्यो सबै गलत हो, राजालाई हामीले चिनेकै छौं । राजाले यस्तो गर्नै सक्दैनन् ।’
राजालाई एकताको प्रतिकका रूपमा सबैले मान्ने राष्ट्रपतिको सट्टा राजसंस्था रहने बताउँदै राजा साझा र एकताको प्रतीकको रूपमा मान्ने तामाङले बताए । ‘राजाले देश लथालिङ्ग भयो, भौगोलिक, आर्थिक, सामाजिक रूपमा संकटमा परेको छ, भ्रष्टाचार चरम उत्कर्षमा पुग्यो, युवाहरू विदेश पलायन भइसकेको अवस्थामा मैले के सहयोग गर्न सक्छु भने साथ दिनुस् म पनि लाग्छु भनेका हुन्,’ उनले भने ।
गणतन्त्रवादीहरूकै कोखबाट जन्मिएका राजावादी आन्दोलनका कमाण्डर ?
गणतन्त्रवादीहरूसँग पौंठेजोरी गरी वर्तमान व्यवस्थाको उपभोग गर्ने दुर्गा प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालदेखि सडकसम्म राजसंस्थाको वकालत गर्दै आइरहेका थिए । गत फागुन २५ गते पूजाआजा र शुभचिन्तकसँग भेटघाट गर्न गएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागतका लागि गएका राजावादी राजनीतिक दल, संघ संगठनका कार्यकर्ता र वर्तमान सरकारका नेतृत्वप्रति रुष्ट भएका आम सर्वसाधारणको जमात थियो ।
सोही जमातमा राजाको स्वागतका लागि आफ्ना कार्यकर्तालाई लिएर अलग्गै धार बनाएर गएका दुर्गा प्रसाईंले राजाको विश्वासिलो पात्र बन्न विगतदेखि राजसंस्थाको वकालत गर्दै आइरहेका राजावादी दल भनेर चिनिने राप्रपा र राप्रपा नेपालप्रति पत्रकार सम्मेलन गरी धमिलो पानीमा माछा मार्न आएको भन्दै कटाक्ष गरे । त्यसपछि राजसंस्थाको सडकदेखि सदनसम्म चर्चा हुन थालेपछि ज्ञानेन्द्रसँग लबिङ गरिरहेका प्रसाईं अन्ततः जनआन्दोलनका कमाण्डर बने ।
प्रदर्शन हुने अघिल्लो दिन ज्ञानेन्द्रलाई भेटेर आएका प्रसाईं प्रदर्शनमा भाँडभैलो मच्चाएर फरार भए । राजाका विश्वासिला पात्र बनेका प्रसाईंकै कारण यतिवेला ज्ञानेन्द्रको नुर हराउन थालेको छ । यती मात्रै हैन, दुई पटक राजगद्दी सम्हालेका ज्ञानेन्द्रको जीवनकालमा नभएको कुरासमेत यतिखेर भइरहेको छ ।
प्रदर्शनको कमाण्डिङ गरेका प्रसाईं फरार रहेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ज्ञानेन्द्रको निवासमै पुगेर ८ लाख रुपैयाँको क्षतिपूर्तिको जरिवाना तोकेको छन् । प्रदर्शन भएको ६ दिन वित्नै लाग्दा समेत पक्राउ पर्न नसकेका प्रसाईं वर्तमान सरकारकै संरक्षणमा आशंका कतिपय नेताहरूले गर्न थालेका छन् ।
लिङ्देन र थापाप्रति पूर्वराजाको उपेक्षा !
वर्तमान व्यवस्थामा रहेर राजनीति गरिरहेका राप्रपा र राप्रपा नेपालले राजसंस्थाको पनि वकालत गर्दै आइरहेका राजनीतिक दलहरू हुन् । गणतन्त्रवादी दलहरूसँगै सत्ता सहकार्य गरेर उपप्रधानसहित मन्त्री बनेका राप्रपा अध्यक्ष लिङदेनले राजसंस्थाको वकालत सडकमा मात्रै गरेनन् । उनले वर्तमान संविधानले व्यवस्थामा आधारित सदनको रोष्टमबाटै राजसंस्थाको वकालत गरे ।
२०७९ को चुनावपछि माओवादी र एमालेको सरकारमा सहभागी हुँदै लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बनेका थिए । राजतन्त्रको खोल ओढेर गणतन्त्रवादी दलहरूसँग सत्ता सहकार्य गर्ने र त्यहीँ व्यवस्थामा रहेर राजसंस्थाको वकालत गर्ने दोहोरो चरित्र भएका लिङ्देन ज्ञानेन्द्रका विश्वासिला पात्र बन्न सकेनन् ।
यस्तै, राजनीतिक जीवनमा सधैँ अवसरको शिकार गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०५१ सालदेखि अहिलेसम्म सत्ता पलट गरेर मन्त्रिपरिषद्का अध्यक्ष भएका ज्ञानेन्द्र नेतृत्वमा पटक–पटक सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेससँग सहकार्य गर्दै सत्ता भोग गरे । यति मात्रै हैन, चुनावी मैदानमा पनि गणतन्त्रवादी राजनीतिक दल नेकपा एमालेको चुनाव चिन्हले चुनाव लडे । सत्ताभोग गर्दा गणतन्त्रहरूसँग पौंठेजोरी गर्ने थापा यतीवेला सत्ताभोगबाट टाढा भएर राजसंस्थाको वकालत गर्दै आइरहेका छन् ।
राजसंस्थाको पुनर्स्थापना गर्न पूर्वपञ्च सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमा आफू प्रत्यक्ष रूपमा सहभागी नभए पनि आफ्ना कार्यकर्तालाई पठाएर आन्तरिक रूपमा राजसंस्थाको वकालत गरेर दुई नाउमा खट्टा राख्न खोजेका छन् ।
यसरी दोहोरो चरित्र अथवा स्पष्ट धारणा र एजेण्डा बनाउन नसकेका राप्रपा र राप्रपा नेपालप्रति ज्ञानेन्द्र निकै रुष्ट देखिएका कतिपय राजनीतिक विश्लेषकको टिप्पणी छ ।
तीनकुने घटनाको किन भइरहेको छ आलोचना ?
प्रदर्शन भएको छैटौं दिनमा प्रधानमन्त्री बाहिर भएको बेला बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई चैत १५ गते भएको प्रदर्शनका घटनाक्रम समेटि राप्रपाले ५ बुँदे ज्ञापन पत्र बुझाएको छ । राप्रपाले बुझाएको ज्ञापन पत्रको दोस्रो बुँदामा गृहमन्त्रीको राजीनामासँगै दमनको नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बनको माग गरिएको छ ।
ज्ञापन पत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले चैत्र १५ गतेको हिंसात्मक घटनालाई राज्यले एकपक्षीय रूपमा प्रचार गर्ने र राज्यको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलाप बढाएको आरोप लगाए । ‘सरकारको तर्फबाट मञ्चमा प्रहार गरिएको अश्रुग्यास फेक हो भनेर प्रचार गरियो । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनालाई हिंसात्मक बनाउन सरकार स्वंयम लागि परेको छ । राष्ट्रिय गान बजाउँदै गर्दा अन्दाधुन्दा अश्रुग्याँस किन प्रहार गर्नुपरेको थियो रु’ उनको प्रश्न थियो ।
तीनकुनेको घटनाबारे पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डिआइजी दिनेश आचार्यले राष्ट्रिय गान बजाउँदै गर्दा र घरको छतबाट टियरग्यास प्रहार नगरेको दाबी गरेका थिए । उनले भने, ‘तीनकुने प्रदर्शनका क्रममा प्रहरी ‘कम्फर्टेबल जोन’मा थिएन, प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरिराखेका थिए । सोही क्रममा अश्रुग्यास प्रहार गर्दा मञ्चसम्म पनि पुगेको हुन सक्छ । प्रहरी कसैको घरको छतमा पुगेको छैन । छतबाट ग्यास पनि प्रहार भएको छैन । यस्तो वेला ग्यास आकाशतर्फ प्रहार गर्नुपर्छ । फरक ठाउँमा बसेकाहरूले सोही ग्यास माथिबाट खसेझैँ देखेका हुन। अन्यथा केही होइन ।’
प्रदर्शनको नेतृत्वमा नवराज सुवेदी देखिए पनि प्रदर्शनको कमाण्डिङ गरिरहेका प्रसाईंलाई सुरुमै प्रहरी नियन्त्रण गर्न नसकेपछि प्रदर्शन अराजक बनेको टिप्पणी प्रहरीदेखि नेतालगायत आम सर्वसाधरणहरुले गरिरहेका छन् । अर्का पक्षबाट प्रदर्शनमा प्रहरीको कमाण्ड नै प्रभावकारी र अनुभवी नभएको टिप्पणी भइरहेका छ ।
भाटभटेनी सुपरमार्केट लुटिएको सूचना पुग्दा पनि प्रहरी नपुग्नु, जडीबुटी प्रशासन केन्द्रमा तोडफोड र आगजनी हुँदा घण्टौंसम्म प्रहरी नपुग्नु, भीडबाट पछाडी हटिसकेका सविन महर्जनमाथि गोली प्रहार हुनु, सहकारीको भवनमा पत्रकार सुरेश रजक ‘ट्रयाप’ परेको सूचना पुग्दा ‘रेस्क्यु’ गर्न नसक्नु र प्रसाईंले प्रहरीलाई किचेर मारौंला झैं गरेर प्रहरी घेरा तोड्दासमेत उनलाई छाड्नु त्यो दिनको गम्भीर लापरबाही रहेको ठम्याइएको छ । प्रदर्शनका लागि सुरक्षा निकायसँग अगावै छलफल गर्दागर्दै पनि गम्भीर नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।































प्रतिक्रिया