काठमाडौं । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातिको समयमा पक्राउ गरेकोप्रति असन्तुष्टि पोखेका छन् ।
आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रवि लामिछानेलाई गिरफ्तार गर्न प्रहरी लामिछाने निवासमा पुगेको समाचार आएका छन् । अदालतको आदेशको पालना र कार्यान्वयन हुनु पर्नेमा त कुनै द्विविधा छैन । तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ? के टेक्स्ट र एक्सनमा हाम्रो सङ्गति कहिल्यै नहुने हो ?’
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले मध्यरातमा नियन्त्रणमा लिएको हो ।
लामिछानेलाई काठमाडौंको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो । सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो ।
यता रास्वपाले सभापति लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएकोप्रति आपत्ति जनाएकाे छ । शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको हाे । लामिछाने पक्राउ परेपछि शुक्रबार राति नै भर्चुअल रुपमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ ।





























प्रतिक्रिया