काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन रहेकी बताएकी छन् ।
परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उनले सो धारणा राखेकि हुन् ।
उनले भनिन्, “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।”
सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गरिन् ।
मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
इलाम क्षेत्रको महत्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडा र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गरिन् । उनले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गरिन् ।
साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गरिन् । उनले भनिन्, “मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।”
कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन् ।































प्रतिक्रिया