काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धन सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सन्जाल विधेयक, कुलमान घिसिङ प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा भइरहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै उनले अब यो कार्यलाई बदल्ने माग राखेका छन् ।
यस्तो छ महामन्त्री शर्माको ७ बुँदे असन्तुष्टि-
सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ!
१) सामाजिक सञ्जाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो। अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपुर्व कुनै संवाद भएन।
२) कुलमान प्रकरण मा हटाउनुहुन्न भन्ने कांग्रेसभित्रको फरक मत र आम जनमतको हेक्का राखिएन। असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन।
३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ। सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयक मार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रती साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ।
४) अख्तियार सम्बन्धि विधेयक राज्यव्यवस्था समितिले उपसमिति मार्फत करिब टुंगोमा पुर्याएको थियो, यसलाई निर्देशित रूपमा `होल्ड´ गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ।
५) त्रीविविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनी त्रीविविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ।
६) रास्ट्रबैंकको गभर्नर नियुक्तिको बिषयसँग गाँसिएर अनेक थरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दु:खद छ। मौद्रिक नितिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो।
७) नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिनादिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारमा कांग्रेस पनि सहभागी छ । तर, पछिल्लोसमय कांग्रेसभित्र भने सरकारको कार्यशैलीलाई लिएर तीव्र असन्तुष्टि छ । यसअघि मंगलबार मात्र कांग्रेसका अर्का महामन्त्री गगन थापाले वर्तमान सरकारले राम्रो पर्फर्मेन्स दिन नसकेको टिप्पणी गरेका थिए । ‘एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् ।’ उनको भनाइ थियो ।





























प्रतिक्रिया