उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा किन गएनन् गगन थापा ?

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा किन गएनन् गगन थापा ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अनुपस्थितिले यतिबेला गठबन्धनमा हलचल मच्चाएको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्कासँगै महामन्त्री थापा सहभागी नभएका हुन्। जुन बैठक सरकारका कामकारवाही र कार्यशैलीबारे सत्तासाझेदार दलका कतिपय नेताहरुले नै असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाको छलफलपछि डाकिएको थियो ।

बैठकमा ओली र देउवासहित एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी थिए । तर, पछिल्लोसमय सरकारप्रति असन्तुष्टिको आगो ओकलिरहेका महामन्त्री थापाको अनुपस्थितीले भने गठबन्धनको भविष्यमै आशंका उब्जिएको छ ।

यता प्रधानमन्त्रीको सचिवालयका अनुसार खड्का स्वास्थ्यका कारण र थापा उपत्यका बाहिर भएकाले बैठकमा सहभागी भएनन्। तर, स्रोतका अनुसार थापा बारामा भएको कार्यक्रम समापन गर्दै काठमाडौं फर्किएका थिए, उनलाई लामो समय बालुवाटारमा पर्खिइएको पनि थियो । तर थापा बैठकमा सहभागी भएनन् ।

उनको यो अनुपस्थितिले ओली नेतृत्वको गठबन्धन सरकारप्रतिको असन्तुष्टिलाई प्रष्ट दर्शाएको छ । केही दिनयता महामन्त्री थापाले सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीप्रति तितो पोख्न थालेका छन्। सरकार ट्रयाक्टरको गतिमा हिँडेको, डेलिभरी दिन नसकेको, प्रधानमन्त्रीको ओछ्यानसम्म बिचौलियाको पहुँच पुगेको आरोप लगाउँदै आएका छन् ।

बुधबार मात्रै कांग्रेसको बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका थिए । उनले भनेका थिए, ‘विधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं। तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन। त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ। जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन।’

महामन्त्री थापा यतिमै रोकिएनन् । कांग्रेस पार्टीमा फरक मत राख्न र आलोचना गर्न पाइने भन्दै उनले एमालेमाथि कटाक्षसमेत गरे । ‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न गर्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,’ उनले भने, ‘कोही भीम रावल बन्दैन । किनकि, यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’

आफ्नै दल सत्ता साझेदार बनिरहँदा महामन्त्री थापाको यो अभिव्यक्ति र बहिष्कारले संशय पैदा गरेको प्रष्टै पार्छ ।

तर, यता बालुवाटार बैठकले भने सरकार सञ्चालनमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए । “दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ”, उनले भने, “सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहाद्र्रपूर्ण र सकारात्मक कुराकानी भयो ।”

Skip This
Skip This
Logo