काठमाडौं । लामो समय सरकारको बचाउ गरिरहेका सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय वर्तमान सरकारको कामकारबाही र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् । असन्तुष्टि मात्रै पोखिरहेका छैनन्, सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै अनुपस्थित भएकाले सरकारको आयुमा आशंका उब्जिएको छ ।
प्रधानमन्त्री ओली र सरकारप्रति आक्रामक बनेका महामन्त्री थापा मात्रै अनुपस्थित थिएनन्, उपसभापति पूर्णबहादुर खड्का पनि गएनन् । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल गरी पाँच जना सहभागी थिए ।
तर कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, कांग्रेसका गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मात्रै सहभागी थिए ।
ओली र सरकारप्रति पछिल्लो समय सत्तारुढ दल कांग्रेस इतर समूहका प्रमुख नेताहरू डा. शेखर कोइरालादेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन् भने प्रधानमन्त्रीको पर्खाइमा रहेका सभापति देउवा भने मौन छन् ।
विभिन्न राजनीतिक घटनाक्रमले आम सर्वसाधारण निराश बनेको परिस्थितिमा सत्तापक्षकै नेताहरूले सरकारमै नभएको अभिव्यक्तिले सरकार फेरिने संकेत गरिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राहत मिलिरहेको छ भने प्रधानमन्त्री ओलीलाई छटपटी भएको छ । यद्यपि २०८४ सम्म सरकार टसमस नगर्ने दाबी गर्दै आइरहेका ओली पछिल्ला समयका राजनीतिक घटनाक्रमले संशकित बनेका छन् ।
नेपाली राजनीतिमा लामो समय सरकार टिक्न सक्दैनन् भन्ने उदाहरण २०७९ को चुनावपछि बनेका सरकारले प्रष्ट गर्छ । ७९ पछि अहिलेसम्म ५ पटक सरकार फेरिए पनि नेतृत्वको सोच फेरिएको छैन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गर्दै आएपछि राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ । प्रचण्डको उक्त अभिव्यक्तिलाई एमालेले सरकार बाहिर रहेको छटपटीको संज्ञा दिएका छन् तर सरकारको कार्यशैलीप्रति सत्तापक्षका नेताहरूमै छटपटी भएको देखिएको छ ।
पछिल्ला दिन जिल्ला सम्मेलनमा व्यस्त रहेका कांग्रेसका महामन्त्रीहरू थापा र शर्मा सरकारको कार्यशैलीप्रति मात्रै आक्रामक छैनन्, उनीहरू प्रधानमन्त्री ओलीमाथि नै खनिएका छन् । कांग्रेसकै समर्थनमा बनेको वर्तमान सरकारको आलोचना विपक्षीहरूभन्दा सत्तारुढ दल कांग्रेसकै नेताहरूले बढी गरिरहेका छन् ।
सरकारप्रति थापा र शर्मा आक्रामक बन्दा देउवा मौन !
वर्तमान प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरे पनि पार्टी सरकारमा भएकाले सरकारलाई आफूले गर्नुपर्ने सहयोग बाहिर रहेरै गर्ने भनेका थापाले अहिले चर्को आलोचना गरिरहेका छन् ।
कांग्रेसका महामन्त्री थापाले जतिसुकै बलियो गठबन्धनबाट ओली प्रधानमन्त्री बने पनि प्रत्येक दिनजस्तो सरकार ठीक छ भनिराख्नुपर्ने स्थिति रहेको बताए । चुनावअघि र पछिका कुनै पनि गठबन्धन राम्ररी नचलेको गुनासो गर्दै उनले २०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कांग्रेसले कल्पना नै नगर्न आग्रह गरे ।
‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ । हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरूसँग पनि छलफल चलाउनुपर्नेछ । २०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन,’ उनले भने । ‘यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौं । अहिले एमालेसँग सरकारमा छौं । एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एकअर्कासँग मारामार छ,’ उनले भने, ‘हामी कसैसँग पनि गठबन्धनको राम्रो अनुभव छैन । भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन । तर नेपालमा न चुनावअघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको ।’
प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहीँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठीक छ भन्नै पर्छ । जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ । त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो नभएको उनको तर्क छ । केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली काम गर्न छोडेर डुलिरहेको टिप्पणी गरेका थिए । धेरै बोल्नुभन्दा पनि काममा ध्यान दिन आग्रहसमेत गरेका थिए । यति मात्रै होइन, बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म रहेको आरोप लगाएका थिए ।
सरकार बनेको १० महिना नबित्दै सत्तारुढ दल कांग्रेस इतर समूहका नेता डा. कोइरालाले केही दिनअघि मात्रै काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्दै सत्तामा रहेको तर सरकारमा नरहेको टिप्पणी गरेका थिए भने महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै सरकार चल्नलाई कार्यशैली बदल्नुपर्ने टिप्पणी गरे ।
सामाजिक सञ्जाल विधेयक, कुलमान घिसिङ प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्तसहितका विषयमा सरकारको कार्यशैलीप्रति सात बुँदे असन्तुष्टि सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘सरकार चल्नुपर्छ तर कार्यशैली बदल्नुपर्छ ।’
चैत ११ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई रातारात पदमुक्त गरी वर्तमान सरकारले हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि थापा र शर्माले सामाजिक सञ्जालबाटै आक्रोश पोखेका थिए । सरकारले गर्नु नहुने काम गरेको उनीहरूको टिप्पणी थियो । सडकदेखि सदनसम्म चर्को भाषण गर्ने थापा लामो समय मौन रहे पनि अहिले सरकारको कार्यशैलीप्रति चर्को भाषण गरिरहेका छन् ।
यसरी पार्टीकै प्रमुख नेताहरूले सरकारको चर्को आलोचना गरिरहँदा सभापति देउवा भने मौन छन् । प्रधानमन्त्रीको पर्खाइमा रहेका देउवा ओलीको कुरामा विश्वस्त छन् । चाहे आफ्ना नेताहरूले सरकारको आलोचना गरे पनि देउवालाई खासै फरक परेको देखिँदैन । आम सर्वसाधारणले सरकारविरुद्ध आलोचना गरे सार्वजनिक स्थलमै संस्कार र नैतिकताका कुरा सिकाउने देउवा सरकारमै रहेका बेला आफ्नै नेताहरूले सरकारको कार्यशैली र प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउँदा पनि चुपचाप छन् । देउवाको मौनतालाई प्रधानमन्त्रीको लोभ भएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ । तर यथार्थमा देउवा मौन नै रहने भएर पनि होला उनको मौनताको विषयभन्दा पनि सरकारप्रति असन्तुष्टि पोखिरहेका नेताहरूको चर्चा छ ।
कांग्रेस–एमाले सरकारको विकल्प खोजी ?
गत असार १७ गते संविधान संशोधन र सुशासनलगायत ७ बुँदे सहमतिमा बनेको कांग्रेस–एमाले सरकारको १० महिना नबित्दै सत्तापक्षकै दलका नेताहरूबीच असन्तुष्टिले यसको आयुमाथि नै प्रश्न उब्जिएको छ । नेपाली राजनीतिमा ८/९ महिना पुगेपछि गठबन्धन टुट्ने, नयाँ समीकरण बन्ने परिपाटी भएरै होला अहिले पनि त्यही नै प्रवृति जारी छ ।
अध्यक्ष प्रचण्डले सरकारप्रति सत्तापक्षकै नेताहरूको असन्तुष्टि छ, आम नागरिकहरूमा निराशा र जसरी सरकारले काम गरिरहेको छ, यो समग्र राजनीतिक घटनाक्रमले सरकार लामोसमय नटिक्ने टिप्पणी गर्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका थिए । यद्यपि, उक्त अभिव्यक्तिलाई एमाले र कांग्रेसले सत्ता बाहिर रहेको छटपटी भएको औंल्याएका थिए ।
तर कांग्रेस–एमालेको गठबन्धन भत्किने सम्भावना नरहेको राजनीतिक विश्लेषक सुन्दरमणि दीक्षित बताउँछन् । माओवादी अध्यक्ष प्रचण्डले भन्दैमा कांग्रेस–एमाले पत्याउने बाटो नरहेको उल्लेख गर्दै उनले भने, ‘वर्तमान सरकारलाई झन् कसिलो बनाउँछौं भनिसके । देउवा प्रधानमन्त्री पदको लोभमा छ । ओलीले पनि दिन प्रतिदिन प्रधानमन्त्री पद हस्तान्तरण गर्छु भन्दै भाषण रटेको छ । यसो भन्दा देउवालाई प्रधानमन्त्री बन्छु भन्ने पक्का छ । ओली त बिहान पुर्जा गर्दाखेरी ओम देवाय नमः नभनेको दिनै छैन । अब देउवा त्यहाँ ढोकेर बस्नुभएको छ । त्यसैले नयाँ गठबन्धन असम्भव छ ।’
पछिल्लो समयको राजनीतिक घटनाक्रमका आधारमा नयाँ सरकार बन्ने संकेत गरेका अध्यक्ष प्रचण्डको कुरालाई पनि नकार्न सकिने अवस्था छैन । भनिन्छ नि, ‘हावा नलागी पात हल्लिँदैन’ । त्यसैले नेपाली राजनीतिमा सरकार ढाल्न र बनाउन कुनै समय र परिस्थिति हेरिँदैन । जनताका लागि भन्दा पनि सत्ता र शक्तिका लागि नेपालमा सरकार बनिरहेका उदाहरण व्याप्त छन् ।
२०७९ को चुनावपछि अहिलेसम्म ५ पटक सरकार फेरबदल भए तर लामो समय कुनै पनि सरकार टिकेनन् । त्यसकारण सत्ता र शक्तिका लागि सरकार ढालेर नयाँ सरकार बनाउने परिपाटी बनाएका राजनीतिक दलहरूले फेरि यही नियती भाेग्नुपर्ने त हाेइन भन्ने सर्वसाधारणको चासोको विषय बनेको छ ।































प्रतिक्रिया