काठमाडौं । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईविरूद्ध गृहजिल्ला ताप्लेजुङमा नाराबाजी भएको छ।
कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -६ लेलेप पुगेका भट्टराईविरूद्ध पहिचानवादी समूह र नो केवलकार समूहले नारावाजी गरेका हुन् ।
नेता भट्टराई सिंढी चढेर शौचालय प्रवेश गरेका थिए । त्यसपछि उनीविरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन् । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएको खबर बाहिरिएको छ ।
नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको र पछि भीडलाई सुरक्षाकर्मीले तितरवितर पारेका थिए । अवस्था सामान्य बनेपछि उनी हेलिकप्टरमा काठमाडौं फर्किएका थिए ।
पछिल्लोसमय पाथीभरामा निर्माणाधीन केवलकारको विरोधमा केही समूहले अराजक हर्कत मच्चाउँदै आएका छन् । मुक्कुमलुङ संरक्षणको लागि भन्दै उनीहरु त्यहाँ केवलकार बनाउन दिने पक्षमा छैनन् । तर, सांसद भट्टराईले भने यो केवलकार ताप्लेजुङको समग्र विकासमा कोशेढुंगा सावित हुने दाबी गर्दै आएका छन् । त्यसकारण पनि उनी गृह जिल्लामै नो केवलकार समूहको निशानामा परेका हुन् ।





























प्रतिक्रिया