आन्दोलनअघि अध्यक्ष राजेन्द्र लिङ्देनले भने- हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ

आन्दोलनअघि अध्यक्ष राजेन्द्र लिङ्देनले भने- हामी जे गर्छौं भनेरै गर्छौं, सरकार नडराए हुन्छ

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज बोल्न, हिँड्न सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रविरुद्ध प्रतिकात्मक शान्तिपूर्ण प्रदर्शन गर्ने स्पष्ट पारेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपाले आज काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्दैछ । जसअनुसार राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् । यसरी हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ ।

तर, यसैबीच सरकारले निषेधित क्षेत्र तोड्न खोजेमा सैह्य नहुने र कानून अनुसार कारबाही गरिने चेतावनी दिइसकेको छ । यसको अन्यौलताबीच अध्यक्ष लिङ्देनले आन्दोलनबारे प्रष्ट पारेका हुन् । उनले सरकारलाई नडराउन पनि आग्रह गरेका छन् ।

‘आज राप्रपाले गर्ने प्रदर्शन भनेको: भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ। वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

दिउँसो १२ बजेबाट सुरु हुने भनिएको प्रदर्शनमा अध्यक्ष लिङ्देन पनि सहभागी हुनेछन् ।

तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित परेपछि राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यसअघि २६ चैतमा राप्रपाले बल्खुमा सभा गरेको थियो । वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरिसकेको छ ।

शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसर पारेर राप्रपाका अध्यक्ष लिङ्देनसहितका केही शीर्ष नेताहरूसँग निर्मल निवासमा लञ्च मिटिङ गरेका थिए ।

Logo