भारतीय विद्युतमन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने    

भारतीय विद्युतमन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने    

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । भारतीय विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (वैशाख ९ गते) नेपाल आउन लागेका हुन् । 

भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको बताइएको छ । 

आयोजनाको अवलोकन गरी खट्टर बुधबार स्वदेश फर्किने छन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरुण–३ को अवलोकन गर्न पुग्ने बताइएको छ । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।  

विशेषगरी ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानी साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ । 

यस्तै, ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको निरीक्षण गरी काठमाडाैं फर्किने छन्। 

सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । वैशाख १० गते भारतका विद्युत मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गरी नेपाली मन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर भारत फर्किने छन् ।  

एसजेवीएनले संखुवासभामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । कम्पनीले सो आयोजनाको काम छिटो सक्ने लक्ष्यका साथ गरिरहेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Skip This
Skip This
Logo