काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताएका हुन् ।
अध्यक्ष दाहालले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रुपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राखे । “गणतन्त्र स्थापनापछिको १६ वर्षको यस अवधिमा मुलुकको सभ्यता र संस्कृतिलाई जोड्ने र एक ठाउँमा ल्याउने सन्दर्भमा भए/गरेका गतिविधिलाई पुस्तकमा समेटिएको छ । विकास निर्माणलगायत पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पुर्याई उनीहरूलाई बुझाउने काम पनि राससले गरेको छ । गणतन्त्रमा केही भएको छैन भन्ने कुरालाई पुस्तकले खण्डन गर्दछ ।”
समावेशी र सङ्घीय अवधारणा रासस अगाडि बढ्न खोज्नु सुखद पक्ष हो भन्दै उनले आफ्ना सेवालाई विशिष्टीकृत र विविधीकरण गरेकामा संस्थालाई धन्यवाद दिए । “मेरो नेतृत्वको सरकार रहँदादेखि नै राससलाई चिनिरहेको छु र पछिल्लो समय राम्रो काम गरिरहेको पाएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भने, “राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ । सबैलाई समेट्ने जमर्को गरेको छ । नेपालमा मिडिया पुनःसंरचनाको कुरा बेलाबखतमा उठिरहेकै हो, त्यसै सन्दर्भमा राससले पछिल्ला दिनमा आफ्ना केही नयाँ सेवा पनि सुरुआत गरेको छ । मातृभाषामा समाचार सेवा थप गर्नाका साथै २४ घण्टे सेवा सञ्चालन गरिरहेको छ । जुन महत्वपूर्ण कुरा हो ।”





























प्रतिक्रिया