शिक्षकहरुलाई प्रधानमन्त्रीले भने- सहमति गरेर फर्किनुस्, विद्यार्थीहरु निजीमा जाने जोखिम बढ्यो

शिक्षकहरुलाई प्रधानमन्त्रीले भने- सहमति गरेर फर्किनुस्, विद्यार्थीहरु निजीमा जाने जोखिम बढ्यो

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई सहमति गरेर कार्यक्षेत्रमा फर्कन आग्रह गरेका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । सहमति गर्नुस् र फर्किनुस् । सरकारले सम्भव हुने माग पूरा गर्छ ।’

तर, उनले नेपाल शिक्षक महासंघले औपचारिक वार्ता नै नगर्ने भनेकामा आपत्ति जनाएका छन् । जारी आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना नभएपछि विद्यार्थीहरु निजीमा जाने जोखिम बढेको पनि उनको भनाइ छ ।

उनले थपे, ‘प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् ।

यही वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई पारित गर्न वैशाख १२ गते संसद् बैठकको आह्वान गरेकाे छ । साथै महासङ्घले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आग्रह गरेकाे छ । तर, शिक्षकहरु सडक छाड्ने मुडमा छैनन् ।

Skip This
Skip This
Logo