काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले आज, अर्थात् सोमबार, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा बुझाएकी हुन्।
शिक्षा विधेयक पारित गराउने विषयलाई उच्च प्राथमिकतामा राखेकी मन्त्री भट्टराईले गत माघमा पोखरामा आयोजित एक कार्यक्रममा विधेयक पारित गराउन नसके पदबाटै राजीनामा दिनेसमेत बताएकी थिइन् । त्यसैगरी, उनले आइतबार मात्रै एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पनि याे कुरा दाेहाेर्याएकी थिइन् ।
शिक्षा ऐन आफ्नै कार्यकालमा पारित गराउने अडान लिएर ऐन पारित गराउन सक्रिय भएकी मन्त्री विद्या भट्टराई अन्ततः पछि हटेकी छन्। उनको राजीनामाले यतिबेला आन्दोलनरत शिक्षकहरूमा मात्र नभई शिक्षा ऐनको प्रतीक्षामा रहेका सम्पूर्ण शिक्षा क्षेत्रका सरोकारवालाहरूमा हलचल पैदा भएको छ। शिक्षा ऐन आउँछ वा आउँदैन भन्ने विषय पनि थप अनिश्चित बनेको छ।
शिक्षा ऐनलाई जतिसक्दो चाँडो पारित गराउने उद्देश्यले वैशाख १२ गतेदेखि वर्षे अधिवेशन आह्वान गरिएको भन्दै उनले शिक्षकहरूलाई कक्षाकोठामा फर्कन आग्रह गरेकी थिइन्। मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाटसमेत गरेकी थिइन्। त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल भइरहेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेको बताएकी थिइन्।
तर, उनले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेको १० महिना बितिसक्दा पनि ऐन ल्याउन नसकेपछि राजीनामा दिएकी हुन्। यद्यपि, उनको राजीनामा स्वीकृत भने भएको छैन।
उनले राजीनामाको कारण आफ्नो स्वास्थ्य भएको खुलाएकी छन्, तर त्यसलाई सहजै पत्याउने अवस्था भने छैन । शिक्षक आन्दोलनको दबाब र सरकारका शीर्ष नेतृत्वबीचको राजनीतिका कारण उनले यो कदम लिएकी हुन् भन्ने प्रष्ट पार्छ ।
यतिबेला २० औं दिनदेखि शिक्षकहरू शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। शिक्षा ऐनप्रति सरकारको विवादास्पद अभिव्यक्तिका कारण सरकारलाई विश्वास गर्न नसकेका शिक्षकहरूलाई यस घटनाले थप सशंकित बनाएको छ।





























प्रतिक्रिया