काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जारी आन्दोलनलाई परिणाममुखी बनाउन सहभागी शिक्षकहरूलाई धैर्य, संयम र अनुशासन कायम राख्न आग्रह गरेका छन्।
सोमबार माइतीघर मण्डलबाट नयाँबानेश्वरसम्मको सडकमा विरोधमा उत्रिएका शिक्षकहरूले एक अभिभावकलाई कुटपिट गरेकाे खबर बाहिरिएकाले यसमा विभिन्न टिकाटिप्पणी भइरहँदा अध्यक्ष सुवेदीले अनुशासनमा रहन आग्रह गरेका हुन् ।
‘आन्दोलन आफैंमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला । बजारमा चलेका अफवाह र गलत समाचारहरुमा विश्वास नराख्नुहोला ।’ उनले भनेका छन्, ‘आन्दोलनलाई परिणाम मुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्नुहोला ।’
अध्यक्ष सुवेदीले आज पनि आन्दोलन जारी रहेको र सहभागीहरूलाई सदाझैं माइतीघर मण्डलामा उपस्थित हुन अनुरोध गरेका छन्। आन्दोलनलाई निर्णायक बनाउन थप जोडबलसहित सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।































प्रतिक्रिया