काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको आइतबारको प्रदर्शनमा नेताहरुले गरेको गतिविधिले ध्यान तानेपनि राजावादी समर्थकहरुको उपस्थिति भने निकै न्यून देखियो ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दा उर्लिएको भीडले राजावादीहरुमा थपेको उत्साह पछिल्लो समय राप्रपाले गरेको प्रदर्शनमा देखिएन । गत चैत २६ गते बल्खुमा गरिएको प्रदर्शनमा पनि राजावादी समर्थक भन्दा त्यहाँ भइरहेको प्रदर्शनको बारेमा बुझ्न आएका सर्वसाधारण धेरै थिए । बल्खुमा गरिएको प्रदर्शनभन्दा झन् निराशाजनक उपस्थिति आइतबार निषेधित क्षेत्र तोड्न भन्दै आह्वान गरिएको प्रदर्शनमा देखियो ।
चैत १५ गते तीनकुने भएको प्रदर्शनमा पनि राजावादी समर्थकहरु उपस्थिति निकै बाक्लो रुपमा देखिएको थियो । यद्यपी, उक्त प्रदर्शनमा राजा फर्काउने भन्दा पनि वर्तमान व्यवस्था र नेतृत्वप्रति वाक्कदिक्क भएका व्यक्तिहरुको सहभागिता रहेको समेत टिप्पणी भएका थिए । तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक बनेपछि पछिल्लो समय राजावादीहरुले गरिरहेको प्रदर्शन मत्थर हुँदै गएको आंकलन गर्न सकिन्छ ।
राजावादी आन्दोलन मत्थर हुनुको मुख्य कारण नेतृत्वको अभाव र स्पष्ट मार्गचित्रको अनिश्चितता हो। बलियो र सर्वमान्य नेतृत्व नहुँदा आन्दोलनले दीर्घकालीन रूप लिन सकेको छैन ।
राजसंस्था पुनर्स्थापनाका लागि निरन्तर आन्दोलन गर्दै आएको राप्रपाले आइतबार पनि आन्दोलन गर्यो । केही नेताहरुको उपस्थितिमा मात्रै सरकारले निषेधाज्ञा जारी गरेका स्थानको घेराबन्दी तोड्ने भनेपनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका उच्च पदस्थ व्यक्तिहरु सिंहदरबारबाटै पक्राउ गरे ।
हुन त कार्यकर्ताहरु सडकमा नउत्रिएपछि उनीहरुको योजना पनि प्रधानमन्त्री कार्यालय अगाडी नै नाराबाजी गरेर गिरफ्तारी दिनु थियो । यद्यपी पक्राउ परेको ४ घण्टापछि रिहा भए र अध्यक्ष लिङ्देनले सशक्त रुपमा आन्दोलन अगाडि बढाउने संकेत गरे । वैशाख ७ गतेको आन्दोलन सफल नभएपनि आगामी दिनमा सशक्त ढङ्गले आन्दोलन अघि बढाउने तयारी राप्रपाको छ ।
राप्रपाले गत आइतवार गरेको प्रदर्शन यसअघिका गरिएका प्रदर्शनसँग तुलना गर्दा निकै भिन्न देखियो । अध्यक्ष लिङदेनसहितका नेताहरु सिंहदरबारभित्रै नारा लगाय र पक्राउ परे । यद्यपी पक्राउ परेको ४ घण्टापछि रिहा भएका थिए । उक्त प्रदर्शन भने राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको गरिएको भेटपछि गरिएको थियो ।
पूर्वराजालाई भेटेपछि मात्रै किन आन्दोलित हुन्छन् राजावादी ?
राजसंस्था पुनर्स्थापनाका लागि सडकमै नउत्रिएपनि राजसंस्थाको वकालत गर्दै आइरहेका राजनीतिद दल र संघ संगठनको बलमा सत्ता हडप्ने दाउमा पूर्वराजा रहेको पछिल्ला घटनाक्रमले देखाउँछ ।
किनभने पछिल्लो समय राजसंस्थाका पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिको संयोजकका रुपमा पूर्वपञ्च नवराज सुवेदी र चैत १५ गते तीनकुनेको प्रदर्शनको कमाण्ड रुपमा दुर्गा प्रसाईलाई तोकेको खबर बाहिरिएको थियो। त्यसमा लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि असन्तुष्ट देखिएको थियो । असन्तुष्टीका कारण नै तीनकुनेमा भएको प्रदर्शनका लागि पार्टीका तर्फबाट सहमति जनाएपनि शिर्ष नेताहरु सहभागी थिएन ।
गत शुक्रवार निर्मल निवासमा आयोजना गरिएको लञ्च सहितको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, विक्रम पाण्डेसहित उच्च पदस्थ नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पछिल्लो समयमा राजनीतिक घटनाक्रमका विषयमा छलफल गरे ।
हिजोका दिनमा सत्ता र शक्तिका लागि गणतन्त्रवादी दलहरुसँग सरकारमा गएको भन्दै राप्रपाप्रति उपेक्षा राखेका ज्ञानेन्द्रले लञ्चसहितको बैठक आयोजना गरी राप्रपाको टिमलाई निमन्त्रणा गरेर तीनकुने घटना र राजसंस्था पुनर्स्थापनालगायत विषयमा छलफलमा सहभागी केहि नेताहरुले तीनकुने घटनाको विषय जिज्ञासा राखेका थिए ।
उक्त जिज्ञासाको जवाफमा ज्ञानेन्द्रले आफुले कसैलाई संयोजक या जनकमाण्डर नबनाएको बताए । ‘मैले कुनै समिति बनाउन निर्देशन दिएको या संयोजक तोकेको छैन, कसैलाई जनकमान्डर बनाएको होइन ।’ सहभागी एक नेताले बताए ।
राप्रपा नेताहरूले पूर्वराजा शाहसँग राजसंस्था पुनस्र्थापनाको एजेन्डा राप्रपाले उठान गर्दै आए पनि पूर्वराजाबाट दरिलो साथ नपाइएको आभास भएको गुनासो गरेका थिए । जवाफमा पूर्वराजाले राप्रपाले पनि बलियोसँग मुद्दा उठान गर्न र स्थापित गर्न नसकेको कुरा गरेका थिए ।
नवराज सुवेदी नेतृत्वको समितिमा रविन्द्र मिश्रलगायत राप्रपाका नेताहरु सहभागी भएपनि अध्यक्ष लिङदेन भने सहभागी भएका थिएनन् । उनले सुवेदीको नेतृत्वप्रति आलोचना गर्दै आइरहेका थिए । तर शाहसँगको भेटपछि लिङ्देनदेखि राप्रपाका नेताहरु खुसी देखिन्छन् । निरन्तर गर्दै आएको आन्दोलन भन्दा फरक आन्दोलन गरेर राजाको मन जिन्त तर्फ लिङ्देन छन् । जुन आइतबार सिंहदरबारमा गरेको प्रदर्शनले पनि देखाउँछ ।
पूर्वराजासँग भेटघाट गरेको दुई दिनपश्चात राप्रपाले वैशाख ७ गते सरकारले निषेधाज्ञा जारी गरेको स्थानको घेराबन्दी तोड्ने गरी आन्दोलनको घोषणा गर्यो । उक्त प्रदर्शनमा केहि नेताहरु मात्रै सहभागी हुने भनेपनि सरकारको ध्यान तान्न प्रदर्शनकारीलाई बानेश्वर केन्द्रित गराएर राप्रपाका अध्यक्ष लिङ्देन सहितका उच्च पदस्थका नेताहरुले सिंहदरबारभित्रै नाराबाजी गरे ।
सिंहदरबारबाटै उनलाई प्रहरीले पक्राउ गरेपछि प्रद्धर्शन स्थलमा पुग्न पाएनन् । राप्रपाका नेता तथा सांसद दिपक सिंह सिंहदरबारबाट फुत्केर प्रद्धर्शन स्थल विजुलीबजार पुगेका थिए । प्रद्धर्शन स्थलमा पुगेका सिंहले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको आरोप लगाएका थिए । यद्यपी, निषेधित क्षेत्र तोड्ने राप्रपाको रणनीतिलाई सरकारले सफल भने हुन दिएन। यसअघि गत चैत १५ तीनकुनेमा भएको प्रद्धर्शनमा सरकारले सुरक्षामा लापरवाहि गरेको भन्दै आलोचनाको सिकार बन्नुपर्यो । दुर्गा प्रसाईको कमाण्डमा रहेको प्रद्धर्शनमा एक पत्रकारसहित दुई युवकको मृत्यु भयो भने नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरियो । संयुक्त जनआन्दोलन समितिको आयोजनामा शान्तिपूर्ण हुने भनिएको उक्त आन्दोलन निकै उग्र बन्यो ।
पूर्वराजालाई भेटेपछि किन राजावादी उग्र हुन्छन् ? भन्ने प्रश्न पूर्ण रुपमा उत्तरविहीन भएपनि पछिल्ला दुई घटनाले शंका उब्जाएको हो । पहिलो चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन । उक्त प्रदर्शन हुनु अगाडि कमाण्डर प्रसाई निर्मल निवासमै गएर पूर्वराजालाई भेटेका थिए । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका लागि पूर्वराजाले नै प्रसाईलाई आन्दोलनका लागि कमाण्डर बनाएको स्वयम प्रसाईले भनेका थिए । राप्रपाका उच्च पदस्थ नेताहरुसँग गरिएको भेटघाटमा भने प्रसाईलाई कमाण्डर बनाएको कुरा इन्कार गरे । शान्तिपूर्ण भनिएको प्रदर्शनले मच्चाएको वितण्डा त जगजाहेर नै छ ।
दोस्रो, शान्तिपूर्ण प्रदर्शनका पक्षधर अध्यक्ष लिङ्देनले नै सरकारले निषेधाज्ञा जारी गरिएका ठाउँको घेरा तोड्ने अभिव्यक्ति दिए । यति मात्रै हैन, सिंहदरबारभित्रै नारावादी गरे । राजालाई भेट्न अघि राप्रपाले बल्खुमा शान्तपूर्ण प्रदर्शन गर्यो तर राजालाई भेटेपछि सिंहदरबारभित्रै नाराबाजी गर्यो । निषेधाज्ञा जारी गरेका ठाउँको घेरा तोड्ने राप्रपाको प्रयासलाई सरकारले सफल भने हुन दिएन ।
दुर्गा प्रसाईंबाट पार नलागेपछि राप्रपातिर नजिकिए पूर्वराजा !
विश्वास पात्र फेरिरहने पूर्वराजा शाहले आइतबार पनि आफूले नवराज सुवेदी र दुर्गा प्रसाईलाई संयोजक र जनकमाण्डर बनाएको इन्कार गर्दै राजसंस्था पक्षधरहरुलाई एक ठाउँमा ल्याउ राप्रपाले पहल गरोस् भन्दै राप्रपालाई फकाए ।
पछिल्लो समय राप्रपाप्रति उपेक्षा राख्दै आएका शाहले आफ्नै निवासमा राप्रपाका अध्यक्ष लिङ्देनसहित उच्च पदस्थ व्यक्तिहरुलाई निमन्त्रणा गरेर लञ्च मिटिङ गरे । पछिल्लो समय घटनाक्रमले आलोचनाका सिकार बनेका शाहले लिङदेन सहितका नेताहरुसँग तितामिठा कुरा गरे । राप्रपाका गतिविधिप्रति असन्तुष्टदेखि राजसंस्था पक्षधरहरुलाई एक ठाउँमा ल्याउने जिम्मा समेतका कुराहरु भए ।
राजसंस्था पुनस्र्थापनाका लागि राजावादीहरुलाई एकतृत गर्न समिति नै बनाएर सुवेदीलाई र प्रदर्शनको नेतृत्व गर्न प्रसाईलाई ताकेका थिए । प्रसाई अहिले प्रहरीको हिरासतमा छन् भने सुवेदी आफ्नै निवासमा नजरबन्दमा छन् । यसरी दुवै जना प्रदर्शनको नेतृत्वमा सक्रिए हुन नसक्दा राप्रपालाई अगाडि बढाएको देखिन्छ । यद्यपी यहि मौकामा राजालाई खुसी पार्ने दौडमा राप्रपा छ ।
राजसंस्था पुनस्र्थापनाको एउटै एजेण्डा बोकेका राजावादीहरुको भिन्न–भिन्न धार छन्। जसमा सुवेदी र प्रसाई भएको ठाउँमा लिङदेन र थापा जाँदैनन् । थापा र लिङ्देन पनि एक ठाउँमा आउन सक्दैनन् ।
एउटै एजेण्डा भएपनि अहंकारका कारण एक ठाउँमा आउन नसकेको संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङको तर्क छ ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन गणतन्त्रको अन्त्य गरी राजसंस्थाको पुनर्स्थापना गर्ने घोषणा गरेका गुरुङले एक ठाउँमा आउन नसकेका राजावादीहरुलाई एकजुट गराउने दाबी समेत गरेका छन् ।
केन्द्रबिन्दु डट कमसँग कुरा गर्दै उनले भने, ‘समितिको नेतृत्वमा हुदाँ कमल थापा सहभागी हुनुहुन्थेन तर अहिले छन् । संयुक्त जनआन्दोलन समितिमा राप्रपा कै धेरै नेताहरु छन् । नेताहरु पक्राउ पर्दै आन्दोलन तुहिँदैन । जसरी तितरवितर भएका राजावादी शक्तिहरुलाइ एक ठाउँमा ल्याए । त्यसरी नै एकताबद्ध रुपमा अगाडि बढेर गणतन्त्र दिवसको अवसरमै गणतन्त्रको अन्य गरी राजसंस्थाको पुनर्स्थापना गर्छौं ।’
यस्तै, चैत १५ गते तीनकुनेमा भएको हिंसात्मकपछि पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा हाजिर जमानीमा छुटेपछि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले अब सशक्त रुपमा आन्दोलन सुरु हुने बताए ।
सोमबार डा. शमशेरसँग भेटवार्ता गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेपाल भने, ‘साथीहरु उत्साह कायम राख्नुहोला भन्दै हुनुहुन्छ राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा. धवल शम्शेर राणा आन्दोलन शुरु त अब हुनेछ, अझ सशक्त बन्नेछ । उहाँको स्वास्थ्य उपचार पनि यसैवीच हुनेछ । आजको भेटमा सबैलाई यही सन्देश सुनाइदिनु भन्नु भएको छ ।’
शाह राप्रपाप्रति सकारात्मक भएपछि नेताहरुमा उत्साह छ । शाहले राजसंस्था पक्षधरहरुलाई एक ठाउँमा ल्याउन राप्रपाले पहल गरोस् भनेपछि राप्रपाले नेतृत्व नै पाएको भन्दै खुसी मनाइरहेकाे हाे ।





























प्रतिक्रिया