काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् ।
गत सोमबार ८ गते शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शिक्षामन्त्रीमा सांसद पन्तलाई नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । उनी मन्त्रीपरिषदको वरियतामा ८ औँ नम्बरमा छन्।
को हुन् रघुजी पन्त ?
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त राजनीतिमा आउनुभन्दा पत्रककारिता गर्थे । वि.सं.२०३२ सालदेखि पत्रकारिता गर्दै आएका उनी २०५१ सालमा प्रधानमन्त्री मनमोनहन अधिकारीका प्रेस सल्लाहाकार बनेका थिए । करिब १० महिना प्रधानमन्त्री बनेका अधिकारीको प्रेस सल्लाहकार बनेपछि उनी केहि समयपछि आफै राजनीतिमा जोडिए ।
राजनीतिमा आउनुअघि पन्तले करिब १७ वर्ष निरन्तर पत्रकारितामा बिताए । राजनीतिमा जोडिएको छोटो समयमै २०५४ सालको नेपालगञ्ज महाधिवेशनबाट चुनाव जितेर एमाले केन्द्रीय सदस्य बने । केन्द्रिय सदस्य बनेको दुई सालपछि २०५६ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष चुनाव जितेर प्रतिनिधिसभा सदस्य भएका थिए ।
राजनीतिमा सक्रिय भएको केहि वर्षमै सांसद बनेका पन्त एमालेमा केन्द्रीय संस्कृति, जल तथा ऊर्जा विभाग प्रमुख भएर पनि काम पनि काम गरे । एमालेको सातौं महाधिवेशन २०५९ सालमा पनि उनी केन्द्रीय सदस्य बने । यती मात्रै होइन, २०६१ सालमा श्रम तथा यातायातमन्त्री समेत बने ।
२०६२÷६३ को जनआन्दोलनको सफलतापछि २०६३ सालमा पुनस्र्थापना भएको संसदमा सदस्य पनि भएका थिए । पार्टीको कानुन, सामाजिक सेवा, प्रचार विभाग हुँदै अहिले संस्कृति विभाग प्रमुखको रुपमा कार्यरत छन् ।
अहिले २०७९ मंसिरको चुनावबाट उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य छन् । संसदमा पनि उनी निकै सक्रियताका साथ जनताको आवाज उठाइरहेका हुन्छन्। संसदमा सक्रिय भएर सांसदको भुमिका निर्वाह गर्ने सांसदहरुको सुचीमा छन्। उनी जनताको आवाज मात्रै उठाउँदैनन्, आफ्नै पार्टी सरकारमा भएपनि काम गर्न नसकेको खण्डमा सरकारको आलोचना पनि गर्छन् ।
उल्झनमा परेको शिक्षा क्षेत्रलाई सुल्झाउन सक्लान् ?
विगत २२ दिनदेखि विद्यायल छोडेर सडकमा उत्रिएका शिक्षकहरु शिक्षा ऐन जारी नहुँदासम्म नफर्किने अडानमा छन् । शिक्षकहरु निरन्तर आन्दोलनमा हुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । पठनपाठनमा मात्रै होइन, वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ परिक्षा शिक्षक आन्दोलन कै कारण सरेको छ । वैशाख २१ गतेदेखि सञ्चालन हुने गरी सरेको परिक्षा पनि हुन्छ हुँदैन कुनै टुङ्गो छैन् ।
पछिल्लो समयमा शिक्षा क्षेत्रका घटनाक्रम हेर्दा अस्तव्यस्त देखिन्छ । शिक्षामन्त्री नै राजीनामा दिएपछि शिक्षा क्षेत्रमा रहेको समस्यालाई गम्भिर रुपमा हेरिएको छ । सामान्य तल्लो तहको विद्यालयदेखि शिक्षा मन्त्रालयसम्म समस्या नै समस्या घेरेको छ ।
मन्त्री हेरफेरका कारण शिक्षा ऐन पार लगाउन कठिन अवस्था देखिन्छ । एसईईको परिक्षा भएपनि उत्तरपुस्तिका परीक्षणको काम अहिलेसम्म ठप्प नै छ । माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिको परीक्षण रोकिएको छ । उत्तरपुस्तिका परीक्षण केन्द्रमा राखिएपनि शिक्षकहरू कपी जाँच्नुको सट्टा शिक्षा ऐनको मागका लागि सडक आन्दोलनमा छन् । करिब १० महिनादेखि मन्त्रिपद सम्हालिरहेकी विद्या भट्टराईले एकाएक राजीनामा दिएपछि नियुक्त भएका शिक्षामन्त्री पन्तले शिक्षा क्षेत्रमा रहेका तमान समस्यालाई सुल्झाउन सक्लान् भन्ने प्रश्न खडा भएको छ ।































प्रतिक्रिया