काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीसँगको पार्टी एकता घोषणासभा स्थगित भएको छ ।
एकता सभामा सहभागी हुन पुगेका चौधरीलाई कमलादीस्थित प्रज्ञा भवनबाट सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् । हाल उनलाई डिल्लीबजार कारागार लगिएको छ ।
एकीकरणपछि बन्ने पार्टी नागरिक जनमतको संरक्षकमा रेशम चौधरी रहने समझदारी रहेको थियो । त्यस्तै, पार्टीका अध्यक्ष सिके राउत रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन् ।
एकाएक चौधरी पक्राउ परेपछि सिके राउतको सचिवालयले भनेको छ, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं। यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ। बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं।’































प्रतिक्रिया