मकवानपुर। बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले बागमतीका पाँच सचिवको पदस्थापना र सरुवा समेत गरेको छ । यसैगरी, बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू–उपभोग परिषद् गठन गरी दुई विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । विशेषज्ञमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।
सोही बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति बोर्ड अफ ट्रष्टी को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, प्रदेश उच्च शिक्षा परिषद्को सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयमसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । सोही प्रयोजनकालागि कुल रु एक करोड बजेट रहेको उक्त कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सरकारको प्रवक्ता लामिछानेले बताएका छन् । उनका अनुसार बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।





























प्रतिक्रिया