काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षभन्दा मुनिका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।
जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ दिइएको छ । सो कार्यक्रममार्फत युवाहरुमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरुको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।
राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुपर्ने कारण के हो ? आन्दोलनमा युवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् ।
राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरि कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।
‘राप्रपाले राजाको मुद्दामात्र बोक्छ, राजा भनेको कस्तो राजा हो ? दैनिक जनजीविकासँग सम्बन्धित राप्रपाका एजेण्डा र नीति के हुन् भन्ने बारेमा आजको पुस्तालाई बुझाउनुपर्ने आवश्यक्ता छ । यो व्यवस्था विरुद्ध सडकमा किन आउने भन्ने बारेमा युवाहरुलाई जागृत गराउने प्रयास हो,’ उनले भने ।
राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरु आयोजना गरिरहेको छ ।
यसक्रममा संयुक्त जनआन्दोलन समितिले आबद्ध दलहरुसँग निरन्तर बैठक, आ-आफ्ना मातहतका कमिटीहरुसंग छलफल र लक्षित वर्गहरुसँग तयारी बैठक गरिरहेको छ।































प्रतिक्रिया