काठमाडौं । “नारायणहिटी दरबार” भनेको नेपालमा तत्कालिन राजसंस्थाको प्रतिक हो । झन्डै १२२ वर्षसम्म नेपालको सर्वोच्च शक्तिशाली राजसंस्था र राजपरिवारको अधिकारीक निवास रहेको दरबारले देशको लामो राजनीतिक इतिहास बोकेको छ । र यसलाई विभिन्न राजनीतिक घटनासँगै परिवर्तनको साक्षी पनि बन्नुपरेको छ ।
तर अवस्था सदैव समान रहँदैन भनेझैँ, कुनै बेला देशविदेशका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको लाम लाग्ने “नारायणहिटी प्यालेस”मा अहिले दैनिक रुपमा हजारौँ पर्यटकहरुको भिड हुन्छ ।
देशमा राजतन्त्र अन्त्यसँगै दरबारलाई संग्रहालय बनाउने घोषणा भयो । २०६५ जेष्ठ १५ मा देश गणतन्त्र घोषणा पछि जेष्ठ ३१ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले दरबार छाडे । लगत्तै असार १ गते सरकारद्वारा नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरिएको थियो ।
उक्त घटनाको करिब २२ वर्ष बित्यो, तर अहिले पनि बेला बेला देशको राजनीतिमा पराकम्पनहरु ल्याउने ईपिसेन्टरको रुपमा अझै नारायणहिटीको चर्चा हुने गरेको छ । नारायणहिटीको भूतले गणतन्त्रका कथित वाहकहरु तर्सिन्छन् । उनीहरुलाई डर लाग्छ, केही गरी राजसंस्था फिर्ता भए संकटमा परिन्छ कि ? आखिर उनलाई यस्तो त्रास मनमा किन पसेको छ ? जनतामा भरोसा किन स्थापित गर्न सकेको छैन ? प्रश्नहरु जायज छन् ।
प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन होस् कि उनको सार्वजनिक कार्यक्रममा सहभागिता हरेक विषयले राष्ट्रिय मिडियामा स्थान पाउने गरेको छ, जसलाई जनतामा उनीप्रतिको आस्था जागिरहेको प्रकारले चर्चा गरिन्छ । त्यसपछि गणतन्त्र खतरामा पर्न थालेको देख्नेहरुको समूह जाग्ने गर्दछ । यो प्रक्रिया अब सामान्य प्राय भएको छ ।
पूर्व राजपरिवारका सदस्यहरुले पाउने मिडिया कभरेज पनि यसको एक मुख्य कारण हुन् । अमेरिकामा पढ्दै गरेको पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र नेपाल फर्किने क्रममा विमानस्थलमा खिचिएको फोटो भाइरल होस् कि पूर्वराजाको बेला बखतको नारायणहिटीमा आगमन हरेक विषयले चर्चा पाउनु । पूर्वराजाकी माता रत्नराज्य लक्ष्मी शाह नारायणहिटीभित्रै बस्दै आएकी छन् । उमेरले वयोवृद्ध ९६ वर्षिया आमालाई भेट्न पूर्वराजा समय मिलाएर नारायणहिटी जाने गरेका छन् ।
तर, शनिबारको भ्रमण भने अलिकति पृथक र विशेष खालको थियो भनेर कतिपय मिडियाले लेखेपछि फेरि यस बिषयको चर्चा छ । शनिबार पूर्वराजाले परिवारकासदस्यहरु सहित नारायणहिटी पसेका थिए । पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल, छोरी प्रेरणा र नाति हृदयन्द्र भ्रमण दलमा थिए । पारस र हिमानी भने थिएनन् । जसलाई दलबलसहित गएको पनि भनियो । त्यहाँ राजपरिवार नारायणहिटी प्रवेश गर्दाखेरी राजतन्त्रकालीन ‘सवारी’ को झल्को दिने गरि स्वागत गरिएको थियो । राजावादी धारका जगमान गुरुङको नेतृत्वमा स्वागत गरियो ।
संवैधानिक लोकतन्त्र बहाल रहेको देशमा हरेकलाई कानून सम्बत कृत गर्न स्वतन्त्रता प्राप्त छ । यो समय मिडिया ट्रायलको व्यापक दुरुपयोगको पनि हो । यसबाट जनमानसमा बढ्न सक्ने अन्यौलताको जोखिम त्यतिकै कायम छ । मिडियाले यसलाई चिरफार गर्नुपर्छ । निष्पक्ष पत्रकारिताको हिसाबले बिषयको गम्भिरतालाई सन्तुलन गरि निराकारण गर्ने जिम्मेबारी बहन गर्न मिडियाहरु चुकेको देखिन्छ । जनतामा उत्तेजनाभन्दा संयमता ल्याउनु अत्यावश्यक भएको छ ।
यी विषयहरुले स्वतन्त्र र जवाफदेही तरिकाले बिश्लेषकीय दृष्टिकोण पाउन जरुरी छ । शनिबारको भ्रमणमा भेटघाट संगै दरबार भित्र गरिएको पूजाआजा र जेठ १५ को घोषित आन्दोलनको हिसाबले दुई खालका विश्लेषण गर्ने प्रयास भएको देखिएको छ । त्यहाँ नारायणहिटी राजदरवार परिसरमा रहेको चतुव्र्यूहधाम नारायण मन्दिरमा पूजाआजा गरिएको थियो जसमा हृदयेन्द्र पनि सक्रिय सहभागी रहेको भनिएको छ । हृदयेन्द्र अमेरिकाबाट फर्केपछि आफू जन्मिएको दरवारमा जाने र मुमा बडामहारानीसँग भेट गर्ने इच्छा जाहेर गरेकोले शनिबारको सेड्यूल तयार भएको राजपरिवार श्रोतले नै बताएका हुन् ।
अहिले राजावादी शक्तिहरु एकजुट भई राजसंस्था पुनस्र्थापनाका लागि ‘निर्णायक आन्दोलन’ गर्ने तयारीमा रहेका बेला यो भ्रमणको ‘टाइमिङ’ले पनि कतिलाई हिट गरेको बुझ्न सकिन्छ ।
तर आखिरमा बुझ्नुपर्ने के हो भने यदि जनता आफैले फालेको राजतन्त्रको विषय फेरि चर्चामा आउनुको कारण के होला ? यसको बौद्घिक स्तरमा कस्तो व्याख्या भइरहेको छ ? र के गणतन्त्रको जग यति कमजोर छ कि राजसंस्था पुनः फर्कन सक्ने सम्भावना कायमै छ ? यसका यथोचित जवाफ खोज गर्नु नै हाम्रो मुख्य ध्येय हुनुपर्दछ । यी प्रश्नहरु उपर हुनुपर्ने स्वच्छ, स्वभाविक र तार्किक चर्चा नै शायद विषयको अन्तिम किनारा लगाउन सक्ने होलान् ।
तर विषयको अन्त्य नभई धमिलो पानीमा माछा मार्न सकिने अवसरको रुपमा उपयोग गर्न चाहने तत्वहरु हावी भएको बेला यसले गर्ने भनेको सामाजिक सद्भावमा प्रहार र जनताको समय सम्पतिको क्षय मात्र हो ।
जनताले ल्याएको गणतन्त्रको जग कहिल्यै कमजोर हुँदैन, तर देश हाँक्ने पाइलटहरुको अदूरदर्शिता यसका कारक अवश्य हुन सक्छ । अवस्थामा सुधार हुन नसक्नु र दलिय स्वार्थ हावि भएपछि जनतामा पैदा हुने नैराश्यताले यसलाई कमजोर देखाइदिन सक्ने सम्भावना रहन्छ नै । जसलाई अर्को पक्षले आफ्नो अनुकुल प्रयोग गर्ने आधार खोज्दछन् । यसलाई मजबुत बनाई राख्न बर्तमान नेतृत्वको आतमसमिक्षा र चिन्तन नै काफी हुनेछ । तिनैले स्थिती सुधारका सम्भावना पनि देखाउन सक्छन् । हामीले गर्नुपर्ने भनेको आफ्नो आधारशिला मजबुत नै हो । आरोप प्रतिआरोपले कलह बढाउने मात्र हो । यी अनाहकका विषयले जनतालाई भ्रमित पार्ने र राष्ट्र निर्माणको गतिलाई रोक्ने प्रष्टै छ ।
तसर्थ देश हाँक्ने प्रमुख पाइलटहरुले यसको निराकरणका लागि आत्मसमिक्षा गर्ने र असन्तुष्टिहरु मेट्ने प्रयासहरुमा केन्द्रित हुन सके सबैभन्दा बेस । आफ्नो अकर्मण्यतालाई स्विकार नगर्ने प्रवृत्तिले नै स्थिती भयावह हुदै गएको हो भन्ने कुरा पनि उनले बुझेकै छन् । यो र त्यो भन्दा जनता नै लोकतन्त्रका बाहक हुन र जनसन्तुष्टि नै हरेक समस्याका समाधान हुन सक्छन् । यति बुझे पुग्ने रहेछ ।
सरकार र शासन प्रतिको असन्तुष्टिमा फेरि ब्यबस्था परिवर्तनको सम्भावना तलास गर्ने जत्थाहरुले बेला बखत नारायणहिटीमा पुन राजाको आगमन हुन सक्ने भनेर चर्चा चलाउँछन् । यसको मिडिया ट्रायल हुन्छ । त्यसबाट तर्सिने गणतन्त्रका वाहक भनाउँदाहरुको आत्मविश्वास र जनसमर्थनका दाबाहरु छिन्नभिन्न भइदिन्छन् । जनताको भरोसा जित्न असफल भएर अझै राजसंस्थाको छायाबाट तर्सिन्छन् हाम्रा देश हाँक्ने प्रमुख पाइलटहरु । उनले बिर्सेका छन्, कि लोकतन्त्रका बाहक पनि जनता नै हुन र यसका असल संरक्षक पनि जनता नै हुन् । सार्वभौम जनताको सन्तुष्टि नै यस समस्याको निर्मूलीकरणको उत्तम उपाय हुनसक्छ ।
तसर्थ अब दुवैले आफ्ना स्वार्थ सिद्घिका लागि जनतालाई पिसिन दिने अथक कृत्यहरुबाट विश्राम लिनसके देशले आराम पाउँथे होला र तिनीहरु पनि नारायणहिटीको भूतबाट मुक्ति पाउन सक्थे होला । कति पुस्ताले आन्दोलनमै आफ्नो भविष्य उत्सर्ज गरिराख्ने ?































प्रतिक्रिया