प्रमुख तीन दलको बैठक तीनतिर, एजेण्डा कुनको के ?

प्रमुख तीन दलको बैठक तीनतिर, एजेण्डा कुनको के ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली राजनीतिक वृत्तका तीन प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बैठकमा जुटेका छन् । तीनै दल छुट्टाछुट्टै स्थानमा आफ्नै एजेण्डामा एकैपटक छलफलमा बसेका हुन् ।

जेठ १५ गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेर सत्तारुढ दल एमाले छलफलमा जुटेको छ । एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलसहित नेताहरू एमाले उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई,लेखराज भट्ट,पद्मा अर्याल,गोकर्ण विष्ट लगायत सहभागी छन् ।

एमाले सचिवालय बैठकले गणतन्त्र स्थापना भएको उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउने र राजवादीको आन्दोलनको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् । उक्त दिन काठमाडौं एमालेमय बनाउने उनको उद्घोष छ । सोहीअनुसार सोमबारको बैठकबाट राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ ।

यसैगरी कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसिरहेको छ । आजको बैठकमा समसमायिक राजनीतिकलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको विषयमा छलफल हुने बताइएको छ । अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि हाल उनको पार्टीभित्रै राजीनामाको माग उठेको छ ।

साथै पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ । क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ ।

यता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा शुरु भएको छ। गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग आजै एकता तय भएकाले यसबारे थप छलफल गर्न बैठक बसेको हो । ललितपुरको ग्वार्कोस्थित एक ब्याङ्क्वेटमा माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम तय भएको छ। 

Logo