काठमाडाैं । मोरङको पथरी शनिश्चरे नगरपालिका–०२ र उर्लाबारी नगरपालिका–०३ को सीमास्थित सुनझोडा खोलामा दुई लेनको पक्की मोटरेबल पुल निर्माणको एक भव्य समारोहका बीच शिलान्यास भएको छ।
यस बहुप्रतीक्षित योजनाको शिलान्यास संघीय सांसद डा. सुनिल शर्मा र पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. १ का सांसद डीगबहादुर लिम्बु प्रदेश सांसदहरू गीता तिम्सिना, मानबहादुर लिम्बु र शोभा चेम्जोङले शिलान्यास गरेका थिए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेश सांसद तथा माओवादी नेतृ गीता तिम्सिनाले सांसद डा. शर्माप्रति हार्दिक आभार प्रकट गरिन्। उनले भनिन्,”संघीय सांसद बन्नु उहाँको मात्र उपलब्धि होइन, हाम्रो गठबन्धनको साझेदारी पनि हो। गठबन्धन टुटेपछि कतै प्रतिबद्धता पनि टुट्ला कि भन्ने आशंका थियो, तर डा. शर्माले त्यो आशंकालाई गलत सावित गर्नुभयो।”
सांसद तिम्सिनाले थप भनिन्, “उहाँले आफ्नो वाचा निभाउनु मात्र होइन, मैदानमा जनतासँग गरेको हरेक प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने साहस देखाउनुभयो। म उहाँप्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु।”
उनले विगतमा आफूले पुल निर्माणका लागि संघीय सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गर्दै योजना अघि बढाउन गरेको प्रयाससमेत स्मरण गरिन्। साथै, उनले डा. शर्माको प्रतिबद्धता र कार्यशैली सबै दलका लागि प्रेरणादायी भएको टिप्पणी गरिन्।
सुनझोडा खोलामा बन्ने पुलले पथरी शनिश्चरे र उर्लाबारी नगरवासीको जनजीवनमा ठूलो सहजता ल्याउनेछ भन्ने स्थानीयहरूको विश्वास छ । यो पुल यातायात, व्यापार तथा जनसहभागिताका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।





























प्रतिक्रिया