काठमाडौंं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् ।
नेकपा (एमाले) को संसदीय दलको आज वानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् ।
“मङ्गलबारदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेको छु, उहाँ सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सँधै चल्दैन । संसद सधैँ बन्द हुँदैन”, प्रधानमन्त्री ओलीले भने, “केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । भोलिदेखि सदन चल्छ ।”
सडकमा कुनै समूहले केही माग लिएर बस्दा दौडिएर समर्थन गर्ने, सदन पनि अवरोध गर्ने, यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने तथा लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो । खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए ।





























प्रतिक्रिया