काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा ३२ वर्ष उमेरहद लागू हुने भएको छ ।
जेठको २५ देखि २८ सम्म काठमाडौंमा हुन २४औं महाधिवेशनवाट उमेरहद लागू गर्न एमाले महासचिव शङ्कर पोखरेलले सर्कुलर जारी गर्दै जेठ ११ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ५२औँ बैठकले अनेरास्ववियुको महाधिवेशनमा उमेरहद सम्बन्धी मापदण्ड सुनिश्चित गर्न निर्देशन दिएको उल्लेख छ ।
विद्यार्थीको महाधिवेशनले नौ पदाधिकारी र १५१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेरहद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ ।
उमेर हद लागू हुने निर्णयपछि एकतिहाई आकांक्षी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। उमेर हदका कारण वर्तमान अध्यक्ष समिक बडाल, उपाध्यक्षबाट नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी, महासचिव नरेश रोकाय र सचिवबाट दीपेश प्रसाईं, आशीर्वाद सुवेदी, विनिता काफ्ले, मनोज ताम्ली, सञ्जीव धिताल र कोषाध्यक्ष संगम धिताल बाहिरिँदै छन्। अब पदाधिकारीबाट भावि नेतृत्वका लागि सचिवबाट अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, डा. सुजन कडरिया र प्रकाश पौडेल मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरू मध्येबाटै एकजना अखिलमा अध्यक्ष बन्ने छन् ।
पूर्वअध्यक्षहरु को कति वर्षमा बने अध्यक्ष ?
अनेरास्ववियुका संस्थापक अध्यक्ष सुजन खरेल हुन् । २०२२ जेठ १ गते खरेलको नेतृत्वमा अनेरास्ववियुको स्थापना भएको थियो । काठमाडौंकै शान्ति निकुञ्ज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुजन खरेल (आत्माराम खरेल) को संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी विधिवत् रुपमा स्थापना भएको हो । आधिकारीक रुपमा उनको उमेर प्राप्त नभए तापनी उनी १५।१६ वर्षकै उमेरमा अध्यक्ष भएका थिए ।
२०२५ वैशाख ६–८ गते दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंबाट अध्यक्ष बनेका विश्वकान्त मैनाली २३ वर्षको उमेरमा अध्यक्ष भएका थिए । उनी पछि नेपाल बारको समेत अध्यक्ष भएका थिए । ०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष भएका गोविन्दमान श्रेष्ठ २५ वर्षको उमेरमा अध्यक्ष भएका थिए ।
२०२९ साल असार ३ देखि ५ गतेसम्म सम्पन्न अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को चौथो राष्ट्रिय सम्मेलनमा मुकुन्दबहादुर श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका उनी पनि २३ वर्षमा अध्यक्ष भएका थिए । २०३६ साल चैत ९ देखि ११ गतेसम्म सम्पन्न अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनमा टंक कार्की अध्यक्ष पदमा निर्वाचित भए, उनी त्यतिबेला २४ वर्षका थिए । उनी २०३८ चैत १२–१४ गते काठमाडौंमा छैटौँ सम्मेलनवाट कार्की २६ वर्षमा फेरि अध्यक्ष भएका थिए ।
सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित रामप्रसाद ज्ञवाली पनि २५ वर्षमा अध्यक्ष भएका थिए । सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहेका गौरी प्रधान २२ वर्षमा अध्यक्ष भएका थिए ।
०४२ सालमा काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बनेका चन्द्र भण्डारी २४ वर्षका मात्रै थिए ।
यसैगरी ०४४ मा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित तुलबहादुर गुरुङ ०४६ सालमा सम्पन्न दशौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित भएका उनी २६ वर्षमा अध्यक्ष भए । २०४८ चैत १–७ ११ औँ राष्ट्रिय सम्मेलन, अध्यक्ष शंकर पोखरेल महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव उनी २८ वर्षमा अध्यक्ष बनेका थिए । २०५० सालमा भएको बाह्रौँ महाधिवेशनबाट रामनाथ ढकाल अध्यक्ष चुनिएका उनी त्यस समयमा ३१ वर्षका थिए ।
विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव छन् । उनी २९ वर्षमा अध्यक्ष भएका थिए । ०५३ मा अनेरास्ववियुको आन्तरिक विवादका कारण पुनर्गठन भएको अनेरास्ववियुको अध्यक्ष अरुण नेपाल ३३ वर्षमा अध्यक्ष भए ।
अनेरास्ववियुको १४ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका हिक्मत कार्की अहिले प्रदेश १ का मुख्यमन्त्री छन् । उनी ३४ वर्षमा अध्यक्ष थिए । सोही महाधिवेशनताका भएका मालेनिकट अनेरास्ववियु अध्यक्ष रुपनारायण श्रेष्ठ ३५ वर्षमा अध्यक्ष भए ।
२०५७ सालमा भएको पन्ध्रौँ महाधिवेशनबाट राजेन्द्र राई अध्यक्ष भएका थिए, उनी त्यसताका ३० वर्षका थिए भने सोही सयममा मालेनिकटबाट रवीन्द्र अधिकारी पनि अध्यक्ष बने उनी ३१ वर्षका थिए । २०५९ सालमा भएको सोह्रौ महाधिवेशनबाट राजेन्द्र राई अध्यक्षमा दोहोरिएका उनी त्यस समय ३३ वर्षका थिए । २०६१ असोज १७–२१ गते १७ औँ महाधिवेशनवाट अध्यक्ष बनेका खिमलाल भट्टराई ३५ वर्षमा अध्यक्ष भएका हुन् ।
०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बनेका ठाकुर गैरे अध्यक्ष बन्नदा ३८ वर्षका थिए । २०६५ असोज ४–१० गते १९ औँ महाधिवेशनवाट पहिलो महिला अध्यक्ष वनेकी रामकुमारी झाँक्री अध्यक्ष बन्दा ३० वर्षकी थिइन् ।
२०६७ असोज १५–१८ गते २० औँ महाधिवेशनवाट निर्वाचित माधव ढुङ्गेल ३३ वर्षमा अध्यक्ष बनेका हुन् । अनेरास्ववियुको २१ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका किशोर विक्रम मल्ल ३५ वर्षमा अध्यक्ष बनेका थिए।
२०७२ माघ २७–३० गते २२ औँ सम्मेलनबाट ३२ वर्षमा नवीना लामा अध्यक्ष बनेकी थिइन् । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको २०७६ जेठ ३ गते संयोजक बनेका ऐन महर ३६ वर्षमा अध्यक्ष बनेका थिए । ऐन महर पछि सुनिता बराल ३४ वर्षमा अध्यक्ष बनेकी थिइन् ।
२०८० साल फागुन ५ गते सम्पन्न अनेरास्ववियुको २३औं सम्मेलनबाट समिक बडाल अध्यक्षमा निर्वाचित भए । उनी त्यसबेला ३८ वर्षका थिए ।
२४औं राष्ट्रिय महाधिवेशनमा उमेरहद लागू हुँदा हालका १७ सदस्यीय पदाधिकारीमा १२ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन्।





























प्रतिक्रिया