काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकासविना रोजगारीको अवसर सिर्जना नहुने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नवप्रवर्तक युवासँग प्रधानमन्त्रीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी जागिर सिमित हुने र एक प्रतिशतले पाउने भन्दै उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाय नभएको बताएका हुन् ।
उनले भने, ‘मैले धेरै पहिला देखि भनिरहेको छु अहिले पनि त्यही भन्छु उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरीकन रोजगारीको अवसर कहाँ बाट आउँछ ? हामीले सरकारी जागिर मात्र खोज्ने हो भने त कहिले एउटा रिटाएर होला र मौका पाउला भनेर बस्नुपर्छ । यो त सिमित हो । एक प्रतिशतले पाउने हो जागिर । त्यसैले उद्यमशीलताको विकास बाहेक अरु कुनै उपाय छैन ।’
यसको साथै, उनले पूर्वाधारबिना विकास सम्भव नहुने भन्दै पहिला न्यूनतम पूर्वाधारको विकास आवश्यक रहेको बताए ।
उनले शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताए ।
उनले भने, ‘युवाहरुले हाल जे जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न । परिवर्तनका लागि र राम्रोका लागि लाग्ने स्वभाव बोक्नुपर्छ । असन्तोष मान्नुपर्छ भन्नुको अर्थ सामाजिक सञ्जालमा मुख छाड्ने प्रवृत्तिहरु पनि ठिक होइन, त्यस्तो गर्नेहरु उल्टै पारिवारिक तनावमा परेका हुन्छन् । अब युवाहरुले जब खोज्नेतिर होइन, जब सृजना गर्नेतिर लाग्नुपर्छ । उद्यमशीलता, रोजगारी, बजारीकरण र नयाँपनका माध्यमबाट स्वदेशमै अवसर छ भन्ने देखाएर कामकै लागि युुवाहरु विदेश जाने क्रम रोक्नुुपर्छ ।’
उनले युुवाहरुले रचनात्मकतामा निरन्तरता दिनुुपर्नेमा जोड दिँदै सुरङमार्ग, जलमार्गजस्ता पूर्वाधार विकासमा भइरहेकाले सरकार र सबै क्षेत्रको सत्प्रयासबाट मुलुकको समृद्धि हासिल हुने पनि बताए ।































प्रतिक्रिया