काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गरेका छन् ।
विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषिप्रधान मुलुकमा वातावरणमैत्री जीवनशैली विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका हुन् ।
तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर बन्दै गएको अध्यक्ष दाहालले उल्लेख गरे । उनले भने, “प्लास्टिकको प्रयोग कम गर्न र पुनःप्रयोगलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली विकास गर्न र वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा आग्रह गर्दछु ।”
आजको आवश्यकता वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा खबरदारी गर्दै सक्रियता बढाउनु रहेको अध्यक्ष दाहालको भनाइ छ । “हिमाल, हिमशृङ्खला र हिमाली जनजीवन जोगाउन, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने छ”, उनले भने ।
सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहर व्यवस्थापन जटिल चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले प्लास्टिकजन्य प्रदूषण आजको प्रतिस्पर्धी पुँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम भएको धारणा राखे ।
“प्लास्टिकजन्य प्रदूषण वातावरणीय सन्तुलन बिग्रनुका साथै जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीमा दीर्घकालीन असर पुर्याइरहेको छ, त्यसैले यो समस्या समाधान गर्न सबै सरोकार भएका निकाय एकजुट भएर समन्वय गर्नु जरुरी छ”, उनले भने ।































प्रतिक्रिया