जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

जब प्रधानमन्त्री ओलीको गला अवरुद्ध भए, अनि आँखा रसाए…

केन्द्रबिन्दु
51
Shares

भक्तपुर । प्रधानमन्त्री निवास बालुवाटारको सभाकक्ष । मञ्चपट्टि प्रधानमन्त्री केपी शर्मा ओली र बायाँतर्फ प्रथम महिला राधिका शाक्य । अगाडि लहरै बसेको बालश्रमिक र बालअधिकारकर्मीहरू ।

आज अन्तरराष्ट्रिय बालश्रमविरुद्धको दिवसका अवसर पारेर समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले बालुवाटारमा आयोजना गरेको प्रधानमन्त्रीलाई बालश्रमिकको चिठ्ठी हस्तान्तरण कार्यक्रममा १९ जना बालबालिकाको भोगाइ र पीडाले भरिएका पत्रहरू वाचन भए ।

झण्डै एक घण्टा इँटाभट्टादेखि यातायात मजदुरसम्म, घरेलु बालश्रमदेखि जोखिमपूर्ण श्रममा लागेका बालश्रमिकहरूले आफ्ना बालापनमा भोगेका कठिन र यथार्थ भोगाइ समेटिएको पत्र वाचन गर्दै बालश्रम अन्त्यका लागि राज्यबाट पलाएको आशा राखिरहेका थिए ।

कार्यक्रममा उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा पुष्पा मगरले आफूले भोगेका श्रमका कथाहरू वाचन गरिन‍् । त्यो कथा सुनेर प्रधानमन्त्री स्तब्ध भए ।

जब प्रधानमन्त्री ओलीले बोल्न माइक ताने । बालबालिका र अधिकारकर्मीलाई सम्बोधन गरे । तब उनको आवाज टक्क रोकियो, निकैबेर उनको गला अवरुद्ध भयो । भर्खरै सुनेको बालश्रमिकको पीडाको आवाजले मन निकै गह्रौँ बनायो । उनका आँखा रसाए । रूमाल निकालेर आँसु पुछ्दै नजिकै रहेकी पत्नी राधिकालाई केही बोलिदिन आग्रह गरे । उनी पनि भावुक बनेकी थिइन् । उनका आँखा पनि रसाइरहेका थिए । उनको पनि अवाज निस्किएन । अगाडि रहेका बालबालिका र अधिकारकर्मी धेरैका आँखा त्यसैगरी रसाए ।

निकैबेर भावुक बनेका प्रधानमन्त्रीले भने, “मलाई सबभन्दा बढी माया बालबालिकाको लाग्छ, बालबालिकाले दुःख पाएको देख्न सक्दिनँ, सुन्न पनि सक्दिनँ, बालबालिका सधैँ हासीखुसी रहुन् भन्ने लाग्छ । दुःख कहिल्य नपाउन् भन्ने लाग्छ । जीवनमा मैले कहिले बालबालिकालाई एकपटक पनि कुटेको छैन, एक शब्द गाली गरेको छैन, बालबालिकालाई रुवाउन होइन, बरु रोएकालाई हसाउन खोज्छु ।”

सामन्तवाद र शोषण गरेर गरिब बनाएको हाम्रो देशका जनताले समाज कस्तो थियो, अधिकार के हो थाहा पाउन र प्रधानमन्त्री वा मन्त्रीलाई भेट्न पनि नसक्ने अवस्थामा अहिले लोकतन्त्रमा यसरी बालबालिका आफ्नो देशको प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न सक्ने अवस्थामा पुग्नु, आफूमाथि शोषण भएको, हिंसा भएको थाहा पाउनु खुसीको कुरा भएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो श्रीमती पनि बालश्रम गरेरै पढेको बताउँदै विकास र बालबालिकाको अधिकारका लागि अहिलेको सरकारले काम गरिरहेको बताए । विगत १० वर्ष अगाडि आफू प्रधानमन्त्री हुँदा सडकभरि बालबालिका कुकुरसँगै सुतेको, कुकुरसँगै बसेर खाएको, कुकुरसँगै झगडा गरेको देखेर निकै पीडा भएपछि सडकबाट बालबालिका उठाएर खाने, बस्ने, शिक्षादीक्षाको व्यवस्था गरेको बताए ।

२० प्रतिशत जनता अझै पनि गरिब रहेको र प्रत्येक एक सय जनामा एक जना बालबालिका गरिब रहेको बताउँदै उनले बालश्रम न्यूनीकरणका लागि स्पष्ट रूपमा लागिरहेको बताए ।

संविधानमा मौलिक हकमै बालबालिकाको अधिकारलाई संविधानमै सुरक्षित रूपमा व्यवस्था गरेको बताउँदै उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई बालश्रम निषेध गर्ने अभियान सञ्चालन गर्न निर्देशन दिने बताए ।

प्रधानमन्त्री ओलीले आफूले हुम्ला, मुगुलगायत विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको बताउँदै देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा आफू लागिरहेको बताए ।

सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागिरहेको बताउँदै उनले यस्ता बालबालिकालई तीन तहकै सरकारले आफ्ना ठाउँमा रहेका यस्ता बालबालिकालाई खाने, बस्ने, लाउने शिक्षाको अवसर दिनेगरी अगाडि बढ्ने बताए ।

प्रधानमन्त्रीलाई पत्र भन्दै १९ बालबालिकाले लेखेका पत्रमा फरक श्रमका फरक भोगाइलाई पत्रमार्फत उल्लेख गरिएको थियो । सिन्धुपाल्चोक मेलम्ची घर भई एउटा संस्थामा आश्रय लिइरहेकी १५ वर्षीया जुनु दाहाल, मकवानपुर घर भई काठमाडौँमा एक संस्थामा बस्दै आएकी पुष्पा श्रेष्ठ, १३ वर्षीया सुस्मिता घले, १५ वर्षीया रञ्जु पनेरु, १५ वर्षीय कृष्ण साह, १३ वर्षीय युवराज मगर, १२ वर्षीय सुविन वाइबा, १६ वर्षीय अमित पहरी, १३ वर्षीय समिर पौडेल, १३ वर्षीय राजेश गोले, १५ वर्षीया शर्मिला थिङ, नौ वर्षीय सुवास वाइबा, १६ वर्षीया पेम्नुरी शेर्पा, १५ वर्षीया रेखा परियार, १६ वर्षीय सञ्जित गुरुङ, १५ वर्षीया मेनुका परियार, १३ वर्षीय निसन दर्जीले श्रमका पीडालाई पत्रमा उतार्दै प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले प्रधानमन्त्री ओलीलाई ११ लाख बालबालिका देशका विभिन्न क्षेत्रमा बालश्रममा रहेका र त्यसमध्ये दुई लाख बालबालिका निक्रिष्ट प्रकारको जोखिमपूर्ण बालश्रममा रहेको बताइन् । बालश्रम न्यूनीकरणमा सरकारले संशोधन गर्न लागेको ऐनलाई लागू गर्नुपर्ने उनले बताइन् ।

Skip This
Skip This
Logo