काठमाडौं– गएको जेठमा एक रेडियो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले आगामी महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्ने घोषणा गरेका थिए । कोइरालाले आफूलक्षित गरेर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने संकेत गरेका थिए ।
रामचन्द्र पौडेल समूहबाट सभापति निर्वाचित भएका कोइराला त्यसपछिका दिनमा देउवासँग नजिक रहे । ‘अबको चुनावमा उहाँ (देउवा) उठ्नुहुन्न,’ महाधिवेशन आउन दुई वर्षअघि नै कोइरालाको स्पष्ट भनाइ थियो, ‘नयाँ पुस्तालाई नेतृत्व छाड्नुहुन्छ ।’
७० वर्षसम्म नेपाली राजनीतिलाई प्रभावमा राखिरहेको कांग्रेसको कोइराला परिवार क्रमशः कमजोर बन्दै गइरहेकाबेला सशांकले नेतृत्व लालसा राख्न थालेका छन् । त्यही प्रयोजनका लागि सुजाता कोइरालाको निवास मण्डिखाटारमा तीन कोइराला (सशांक, सुजाता र शेखर) को बैठक बस्यो ।
लामो समय विभाजित रहेका कोइराला परिवारको दोस्रो पुस्ताले फोटो सेसनसमेत गरेर एक भएको सन्देश दिएको थियो । गएको तिहारमा त सुजाताले सशांक र शेखरलाई भाइटिका नै लगाइदिइन् ।
कोइराला परिवारको नेतृत्व शिलशिला अझै रोकिनेवाला छैन । जसैगरी १४ औं महाधिवेशनमा नेतृत्व कोइरालाको पोल्टामा लैजाने अभ्यास सुरु भएको छ । झण्डै तीन वर्ष देउवालाई साथ दिएका महामन्त्री सशांकले पहिलोपटक नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका छन् । स्रोतका अनुसार यही बीचमा अलग्गै समूह बनाएका कृष्णप्रसाद सिटौलालाई पनि कोइराला प्यानलमा अँटाउने प्रयास सुरु भएको छ । त्यसको काम सुजाता र शेखरले गरिरहेका छन् ।
१४ औं महाधिवेशनको तयारी र रिहर्सल कोइराला परिवारले जति गरेको छ, देउवा त्यसमा धेरै पछि छन् । हुन पनि देउवाको प्रवृत्ति नै पूर्वतयारी नहुनु हो । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापतिलाई शक्तिशाली बनाउँदै बहुपदीय मोडलमा जाने विधान मस्यौदामा कोइराला परिवार चुप रहनुलाई यसैगरी अथ्र्याए । ‘कोइराला परिवारमा १४ औं महाधिवेशनपछि नेतृत्व आफ्नो पोल्टामा आउँछ भन्ने विश्वास छ,’ ती नेताको भनाइ छ, ‘सशांक, सुजाता र शेखर पनि सभापतिलाई बलियो बनाउन नै चाहन्छन् ।’
कांग्रेसले पदाधिकारीमा तीनवटा विकल्पसहितको बहुपदीय मोडल तयार गरेको थियो । सभापति निर्वाचित र अन्य ९ पदाधिकारी मनोनीत गर्ने, ७ पदाधिकारी निर्वाचित र ३ मनोनीत गर्ने र पदाधिकारी र केन्द्रीय सदस्य सबै निर्वाचित गर्ने विकल्पसहितको मस्यौदा छलफलका लागि ७ वटै प्रदेशमा पठाइसकिएको छ ।
कांग्रेसले १० पदाधिकारीसहितको १३३ सदस्य केन्द्रीय समितिको मस्यौदामा पनि कोइराला परिवारले असहमति जनाएको छैन । सिटौला समूहलाईसमेत टिममा ल्याउनुपरेको अवस्थामा धेरैलाई ‘इन्गेज’ बनाउन सकिने कोइराला परिवारको निष्कर्ष छ ।
कांग्रेसले विद्यमान महाधिवेशन प्रतिनिधिले मत दिएर केन्द्रीय समिति निर्वाचित गर्नेदेखि क्रियाशील सदस्यले सोझै सभापतिदेखि पदाधिकारी निर्वाचित गर्ने विकल्प मस्यौदामा समावेश गरेको छ ।
विधान मस्यौदा समितिका संयोजक एवं कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पहिलो पटक पार्टीका संस्थापक नेता बीपी कोइरालाले परिकल्पना गरेअनुसार नै विधान प्रस्ताव गरिएको दाबी गरेका थिए ।





























प्रतिक्रिया