काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइरहेको बताए । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवालय तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइरहेको बताएका छन् ।
सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिनाभित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइरहेको बताए।
उनले भने, ‘अब नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दैछ । सकेसम्म अगाडि नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइरहेको उनले बताए ।
हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन् । उनले भने, ‘पछी ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दैछ ।’ संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अघिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन् । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ ।





























प्रतिक्रिया