काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागपञ्चमीको अवसरमा सुख, शान्ति र समृद्धिको कामनासहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। उनले नागपञ्चमीलाई पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा लिँदै यसले मानव र अन्य जीवहरूको सहअस्तित्वको महत्त्वलाई स्मरण गराउने बताएका छन्।
प्रधानमन्त्री ओलीले प्रकृतिको संरक्षण गर्न नसक्दा आज विश्वले जलवायु परिवर्तनको असर भोग्नुपरेको यथार्थलाई पनि औंल्याएका छन्। उनले प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप नै हाम्रा पुर्खाहरूले नागपञ्चमीजस्ता पर्वहरू अपनाएको बुझ्न सकिने बताएका छन्।
नागपञ्चमीको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन रहेको उनले स्मरण गराए। हाम्रा पुर्खाहरूले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएको र यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास रहेको कुरा पनि प्रधानमन्त्रीले उल्लेख गरे।
‘आज नागपञ्चमी: पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ। प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं। प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ। ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ। हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्। यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ।’





























प्रतिक्रिया