…जब प्रधानमन्त्री ओलीले ‘मलाई यहाँ मल चाहियो’ भन्दै कर्मचारीलाई हप्काए

…जब प्रधानमन्त्री ओलीले ‘मलाई यहाँ मल चाहियो’ भन्दै कर्मचारीलाई हप्काए

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मल आपूर्तिको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा मल आपूर्तिको जिम्मेवारी लिएका संस्थाका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकाय जबाफदेही हुन नसक्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको भन्दै आक्राेश पाेखेका हुन् । छलफलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि सहभागी थिए ।

‘अखबारहरुमा हेर्नुस् त, गाली तपाईंहरुको संस्थाले त खाइराखेको छैन । नेताहरुले, पार्टीहरुले, मन्त्रीले गाली खाएका छन्। तर, जिम्मेवार संस्था चुप लागेर बसेको छ। तपाईंहरूको संस्था नै यसका लागि बनेको हो, अनि मलको अभाव छ। तपाईंहरूको संस्थाले के काम गर्‍यो त ?’ उनले भने ।

किसानले हरेक वर्ष भोग्नुपरेको समस्याप्रति आक्रोशित देखेका प्रधानमन्त्री ओलीले थपे, ‘मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ । के भएर मल आउँदैन ? मैले प्रधानमन्त्री हुने बित्तिकै आइन्दा मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ।’

प्रधानमन्त्री ओलीले रासायनिक मल आपूर्तिको व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन पनि निर्देशन दिए ।

यसैगरी कम्पोष्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्बरता बचाउने किसिमको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन पनि उनकाे निर्देशन थियाे ।

Logo