सत्ताका लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिँदैनः गगन थापा

सत्ताका लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिँदैनः गगन थापा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन् ।

बुधबार प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली काङ्ग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए ।

उनले भने, ‘काङ्ग्रेस पार्टीले चुनाव लड्छ, जित्न कोशिस गर्छ । सत्तामा जान्छ, शक्तिको अभ्यास गर्छ । त्यसकारण चुनाव महत्वपूर्ण छ र जित्ने आशा राख्ने कुरा स्वाभाविक हो । तर, त्यो सबै कुरा होइन । सत्ता र शक्तिमा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गर्नुपर्यो भने त्यसरी प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्योसँग सम्झौता गरेर सत्ता प्राप्त गर्ने वा सत्तामा टिकिराख्ने कुरा हाम्रो लागि कहिले पनि प्राथमिकताको विषय भएन् ।’

यस्तै, उनले प्रजातन्त्रमा संख्याको आधारमा गरिने निर्णय वैधानिक भएपनि संख्या छ भनेर जे पनि गर्न नपाइने भन्दै प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हँुदैन् बैद्य हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले जहिले हिजोबाट सिक्ने हो । जन कल्याणको विषयलाई काङ्ग्रेसले मूल विषय बनाउनु पर्ने छ । हामी निर्वाचन लडेर सरकार बनाउछौ त्यो संख्याको आधारमा हुन्छ । तर संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ र मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन । संख्याको आधारमा निर्णय गरियो वैधानिक हुन्छ तर सबै पार्टीको सदस्यले स्वीकार गर्यो भने बैध हुन्छ । प्रजातन्त्र चल्नको लागि बैधानिक मात्र भएर हुँदैन बैध हुनुपर्छ ।’

नेपाली समाजमा रहेको चरम असन्तुष्टि हटाउने कुरा आजको राष्ट्रिय मुद्धा भनेको भन्दै यसको लागि काङ्ग्रेसभित्र आत्मविश्वास र शुद्धता आवश्यक हुने पनि उनको भनाई छ ।

उनले भने, ‘आजको राष्ट्रिय मुद्धा भनेको नेपाली समाजमा चरम असन्तुष्टि छ । यो असन्तुष्टिबाट नेपाली समाजलाई बाहिर निकाल्नु पर्नेछ । कतिपय कुराहरु ठिक छैन्, प्रायोजित छ यो सबै कुरालाई बुझ्नु पर्ने छ र त्यसलाई सम्बोधन गरेर अगाडि बढ्ने काङ्ग्रेसको जिम्मेवारी हो । यसको लागि काङ्ग्रेसभित्रै नै आत्मविश्वास र शुद्धता चाहिएको छ । यसको लागि काङ्ग्रेसले हामी कहाँबाट आएको हो भनेर फर्किएर हेर्नुपर्छ ।’

Logo