सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छः सभामुख घिमिरे

सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छः सभामुख घिमिरे

केन्द्रबिन्दु
6
Shares

पाटन (ललितपुर) । सभामुख देवराज घिमिरेले सङ्घीयताको पक्षमा भएका सकारात्मक अध्ययनका निष्कर्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्ने बताएका छन‍् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास’ सम्बन्धी दोस्रो श्रृङ्खला पुस्तकको आज विमोचन कार्यक्रममा उनले सङ्घीयतालाई व्यवहारबाट परिस्कृत गर्ने परिपाटी कम भएको भन्दै यसमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

“सङ्घीयताको सन्दर्भमा आफूलाई जे लाग्यो त्यही ठीक भन्ने प्रवृत्ति बढ्दैछ, यसले प्रतिफल दिन गाह्रो हुन्छ । सङ्घीयताको पक्षमा भएको अध्ययनलाई व्यवहारमा कसरी उतार्ने भन्नेमा ध्यान दिनुपर्छ । सङ्घीयताको सन्दर्भमा विद्युतीय माध्यमबाट हुने हल्का टिप्पणी र भ्रामक विश्लेषणले सङ्घीयताको सबलीकरणमा समस्या ल्याएको छ”, सभामुख घिमिरेले भने ।

उनले अध्ययन र अनुसन्धानमा निरन्तर क्रियाशील रहँदै आएको प्रशिक्षण प्रतिष्ठानले महत्त्वपूर्ण प्रकाशनमार्फत देशको सङ्घीय शासन प्रणालीको अभ्यासलाई दस्तावेजीकरण गर्न स्वागतयोग्य कार्य गरेकामा धन्यवाद दिए ।

सभामुख घिमिरेले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि हामीले राज्य पुनःसंरचनाको एक ऐतिहासिक र रूपान्तरणकारी यात्रा तय गरेका छौँ । यो यात्रा केवल राजनीतिक संरचनाको परिवर्तन मात्र नभई, शासकीय अधिकार, वित्तीय स्रोत र विकासका अवसरलाई जनताको घरदैलोसम्म पु-याउने एक अभियान पनि हो”,। संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरूप हाम्रो मौलिक अभ्यास हो ।”

उनले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताए ।

Logo