भण्डारीलाई प्रधानमन्त्री ओलीको कटाक्ष- पार्टीको राजनीति गर्ने मन भए किन राष्ट्रपति बन्न गएकाे ?

भण्डारीलाई प्रधानमन्त्री ओलीको कटाक्ष- पार्टीको राजनीति गर्ने मन भए किन राष्ट्रपति बन्न गएकाे ?

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयासको कडा आलोचना गरेका छन्।

च्यासलमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भण्डारीले पार्टी सदस्यता नवीकरणको नाममा कर्मचारीलाई झुक्याएर गलत तरिका अपनाउन खोजेको आरोप लगाएका हुन् ।

उनले भने, “पूर्वराष्ट्रपति भण्डारीले २०७२ सालमा राष्ट्रपति बन्न पार्टी सदस्यता त्याग्नु भएको थियो। त्यसयता उहाँको पार्टीमा कुनै सदस्यता छैन। नभएको सदस्यता कसरी नवीकरण हुन्छ ? नयाँ सदस्यताका लागि कुनै प्रक्रिया पनि पूरा गरिएको छैन।” उनले थपे, “पार्टीको राजनीति गर्ने मन भए किन राष्ट्रपति बन्न जानुभयो? नगएको भए हुन्थ्यो।”

ओलीले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयासलाई पार्टीभित्र समस्या निम्त्याउने गैरराजनीतिक कदमको संज्ञा दिए । उनले भने, “दुईपटक राष्ट्रपति भएको व्यक्ति पार्टीमा फर्कने नाममा समस्या उत्पन्न गर्न उद्यत हुनु ठीक होइन।”

उनले आगामी वर्षको मदन भण्डारीको ७५औं जन्मजयन्तीको नाममा कार्यालय खोलेर पराजित र असन्तुष्ट व्यक्तिहरूलाई प्रयोग गरी पार्टीका जनसंगठनमा अस्थिरता ल्याउने प्रयास भएको दाबी गरे। “यो गैरराजनीतिक कार्य हो। पार्टीभित्र कुनै छलफल नै भएको छैन र हुँदैन,” उनले भने।

Logo