काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका साहसहितका नेता तथा कार्यकर्तालाई एमाले पार्टीमा प्रवेश गराएका हुन् ।
यस्तै, आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्वउपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्वउपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरे ।
अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै गलत बाटो देखाउनेको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिए ।
“हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौँ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपार्इंहरु मुक्त हुनुभएको छ ।” अध्यक्ष ओलीले भने, “एमालेको ठूलो परिवार भएर काम गरौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुनु नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, “अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएका छन् । खासमा राष्ट्रपति भएपछि उहाँले पार्टी सदस्यता त्याग्नुभएको हो । कर्मचारीलाई झुक्याएर हुँदै नभएको सदस्यता रसिद काट्दैमा कायम हुँदैन । उहाँले बाहिरबाहिर बोल्नुभएको छ ।”





























प्रतिक्रिया