काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न ल्याएको पछिल्लो निर्णयको कडा आलोचना गर्दै यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।
उनले सरकार गलत बाटोमा हिँडेको र यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको अधिकारलाई संकुचित गर्ने बताएका छन् ।
महामन्त्री थापाले सरकारले सर्वोच्च अदालतको हवाला दिएर निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने नभई त्यसका लागि आवश्यक कानुन निर्माणमा जोड दिनुपर्ने तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकोले त्यसलाई छिटो अघि बढाएर उपयुक्त कानुन बनाउन आग्रह गरे ।
थापाका अनुसार, आजको दिनमा सामाजिक सञ्जाल नागरिकका लागि आफ्नो अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने, सार्वजनिक बहसहरूमा भाग लिने र सरकारलाई जवाफदेही बनाउनका लागि एक महत्त्वपूर्ण माध्यम बनेको छ। उनले सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीसँग जोडिएको सामाजिक सञ्जालमा कुनै पनि किसिमको प्रतिबन्ध लगाउँदा त्यसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्ने बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय साइबर जोखिमसँग पनि जोडिएको भन्दै थापाले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र सामाजिक सञ्जाललाई सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नका लागि सम्बन्धित कानुन छिटो निर्माण गर्न तदारुकता देखाउन आग्रह गरेका छन् ।





























प्रतिक्रिया