एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि, यस्तो छ कार्यतालिका

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)काे दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरकाे गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन आज नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने कार्यतालिका छ । महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बिहीबार बसेकाे केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको छ । त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गरिनेछ । भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको बताइएकाे छ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।

Logo